प्याज बोकेको ट्रकमा कपडा तस्करी, धनुषाबाट बरामद

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १२, शनिबार (२ महिना अघि)
  • २ पटक पढिएको
प्याज बोकेको ट्रकमा कपडा तस्करी, धनुषाबाट बरामद

सिन्धुली, १२ पुस। सिन्धुलीमा प्याजका बोरा भित्र लुकाइछिपाइ राखिएको ठूलो परिमाणको बिलविहीन कपडा प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार कमलामाई नगरपालिका–९ भिमानस्थित चेकपोष्टमा गरिएको सवारी साधन चेकजाँचका क्रममा उक्त अवैध कपडा फेला परेको हो ।

बर्दीबासबाट काठमाडौँतर्फ जाँदै गरेको प्र.२–०४–००१ ख ००६१ नम्बरको प्याज लोड ट्रकलाई शंकाका आधारमा रोकी जाँच गर्दा भन्सार प्रक्रिया पूरा गरिएका प्याजका २३० बोरा मुनि लुकाइएका विभिन्न ब्रान्डका सुती कपडाका रोलहरू भेटिएको प्रहरीले जनाएको छ । बिहीबार बिहान करिब ९ बजे वि.पि. राजमार्गअन्तर्गतको भिमान चेकपोष्टमा इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको टोलीले ट्रक नियन्त्रणमा लिएको थियो।

जाँचका क्रममा ‘पुनित’, ‘डोनातेला’ र ‘भिमल’ कम्पनीका सुती सुट तथा सर्टका कपडा बरामद गरिएको हो । प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार पुनित कम्पनीका ४९ रोल (९,८१० मिटर), डोनातेला कम्पनीका २० रोल (९,२७०.५५ मिटर) र भिमल कम्पनीका ३० रोल (९,३४०.६ मिटर) कपडा फेला परेका छन् । बरामद कपडाको अनुमानित मूल्य १६ लाख ८३ हजार ६४० रुपैयाँ रहेको छ ।

त्यसैगरी ट्रकमा लोड गरिएको प्याजको मूल्य ४ लाख ८० हजार रुपैयाँ र ट्रकको अनुमानित मूल्य २० लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ । यसअनुसार नियन्त्रणमा लिइएको सम्पूर्ण सामानको मूल्य ४१ लाख ६३ हजार ६४० रुपैयाँ पुगेको छ ।

यसैबीच, बरामद कपडा धनुषाबाट तस्करी गरी ल्याइएको र यसमा जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत घुमुवा प्रहरी सागर राणाको संलग्नता रहेको व्यापारी स्रोतले दाबी गरेका छन् । स्रोतका अनुसार चेकजाँच सहज गराइदिने आश्वासनमा यस्ता तस्करीका सामानहरू ढुवानी हुँदै आएका थिए । तर, यस विषयमा सम्बन्धित प्रहरी अधिकारीको आधिकारिक प्रतिक्रिया भने आएको छैन ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । तस्करीमा संलग्न व्यक्ति तथा सञ्जालको पहिचान गरी कानुनी कारबाही अघि बढाइने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । यसअघि पनि घुमुवा प्रहरी सागर राणा तस्करी तथा लागुऔषध कारोबारसँग साठगाँठ रहेको आरोपमा विवादमा पर्दै आएका छन् । प्रहरी चौकी जानकीमा कार्यरत देखाइए पनि उनी धनुषा जिल्लाभर घुमुवा भूमिकामा अवैध कारोबारको सञ्जाल चलाइरहेको आरोप स्थानीयस्तरमा उठ्दै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस