काठमाडौं, १३ पुस। पूर्वमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता विरोध खतिवडा सातौँ पटक चुनावी प्रतिस्पर्धाको तयारीमा जुटेका छन् ।
नेकपा मकवानपुरले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खतिवडाको नाम दुईवटै निर्वाचन क्षेत्रबाट सिफारिस गरेको छ । दुई क्षेत्रबाट नाम सिफारिस भएपनि उनी मकवानपुर–२ बाट निर्वाचन लड्ने तयारीमा रहेको बताइएको छ ।
२०४८ पछिमात्रै ५ पटक मकवानपुरबाट निर्वाचन लडेका उनले यो बिचमा एक पटक पराजय भोगेका छन् । त्यसअघि २०४३ को राष्ट्रिय पञ्चायतको निर्वाचन समेत लडेका उनी त्यसबेला पराजित भएका थिए । २०४८ पछि उनले ४ वटा निर्वाचन जितेका छन् भने २०७९ को निर्वाचनमा भने पराजय भोगेका थिए । विरोधले २०४३, २०४८, २०५१, २०५६, २०७४ र २०७९ गरी ६ पटक चुनावी प्रतिस्पर्धा गरेका हुन् । २०६४ र २०७० मा भने उनले उम्मेदवार बन्ने अवसर पाएका थिएनन् ।
विरोध चुनाव लड्ने तयारी गरेको मकवानपुर–२ का अधिकांश क्षेत्र ग्रामीण भेगमा पर्दछ । तामाङ समुदायको बाहुल्यता रहेको यो क्षेत्रले रुपचन्द्र विष्ट ‘रुदाने’ को इतिहास बोकेको छ । ‘थाहा’ अभियानका प्रणेता रुदाने (रुपचन्द्र–दामन–नेपाल) ले सोही निर्वाचन क्षेत्र अन्तर्गत पर्ने थाहा नगरपालिकामा राजनीति गर्थे । जनमुखी नेताका रूपमा परिचित रुपचन्द्रले २०२९/०३० सालतिरबाट दामन क्षेत्रमा थाहा आन्दोलन सुरु गरेका थिए ।
रुपचन्द्रले छोडेको छापकै कारण हालसम्म पनि सो क्षेत्रमा कम्युनिस्टको राम्रो पकड कायम भएको बताइन्छ । २०४३ मा खतिवडा मकवानपुरबाट जनपक्षीय राष्ट्रिय पञ्चायत सदस्यको चुनावमा उम्मेदवार बनेका थिए । खतिवडाले विष्टसँग प्रतिस्पर्धा गरेका थिए । सो निर्वाचनमा रुदानेले जित्दा विरोध हारेका थिए ।
२०४८ को आमनिर्वाचन, २०५१ को मध्यावधि र २०५६ को आमनिर्वाचनमा जिल्लामा ३ वटा निर्वाचन क्षेत्र थिए । जसअनुसार २०४८ को आम निर्वाचनमा मकवानपुर–२ बाटै कांग्रेसका उम्मेदवारलाई हराउँदै एमालेका तत्कालीन उम्मेदवार विरोध खतिवडाले चुनाव जितेका थिए भने मकवानपुर–३ मा एमालेबाटै हिरण्यलाल श्रेष्ठ विजयी भएका थिए ।
२०५१ मा भएको मध्यावधि निर्वाचनमा मकवानपुर–२ मा खतिवडा र मकवानपुर–३ मा श्रेष्ठ नै विजयी भए । २०५६ को आम निर्वाचनमा मकवानपुर–२ मा पुनः खतिवडा विजयी भए भने मकवानपुर–३ मा वीरबहादुर लामा निर्वाचित भएका थिए । २०६४ सालको संविधानसभा निर्वाचनमा भने जिल्लाका चारवटै निर्वाचन क्षेत्रबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भए । सो निर्वाचनमा मकवानपुरमा चार निर्वाचन क्षेत्र कायम गरिएको थियो । २०६४ मा २ नम्बर क्षेत्रबाट प्रेमबहादुर पुलामी र ४ नम्बर क्षेत्रबाट कुमारी मोक्तान विजयी भएका थिए । २०७० को निर्वाचनमा मकवानपुर–२ बाट एमालेका सुभाषचन्द्र ठकुरी र मकवानपुर–४ बाट एमालेका राजाराम स्याङ्तान निर्वाचित भएका थिए । तर, दुवै निर्वाचनमा खतिवडाले टिकट पाएनन् ।
यस्तै २०७४ को निर्वाचनयता मकवानपुरमा २ वटा क्षेत्र कायम भए । जसमध्ये साबिकका २ र ३ नम्बर क्षेत्र मिलाएर हालको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बनाइएको हो । जसमध्ये मकवानपुर–२ मा एमालेबाट खतिवडा पुनः विजयी भए । २०७४ को निर्वाचनमा खतिवडाले कांग्रेस नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’लाई पराजित गरेका थिए ।
तर, २०७९ को निर्वाचनमा मकवानपुर–२ बाट तत्कालीन एकीकृत समाजवादी उम्मेदवार विरोध खतिवडा पराजित हुँदा एमालेका महेश बर्तौला विजयी भए । एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीमा लागेका खतिवडा कमजोर संगठनकै कारण बर्तौलासँग पराजित भएका थिए । खतिवडालाई तत्कालीन सत्ता गठबन्धनको साथ भएपनि आफ्नै चेलोसँग पराजित भएका थिए ।
को हुन् खतिवडा ?
धेरैले खतिवडालाई हक्की र निडर स्वभावको नेताका रूपमा चिन्छन् । २०१५ फागुन १० मा मकवानपुरको गढी गाविस (हाल हेटौँडा उपमहानगरपालिका– १७, हटिया, राजदेवी) मा जन्मिएका खतिवडाका बाबु बद्री खतिवडा पनि पुराना कम्युनिस्ट नेता हुन् । बाबुकै प्रेरणाले आफू राजनीतिमा लागेको उनले बताउँदै आएका छन् ।
खतिवडाले हेटौँडाको भुटनदेवी माविबाट २०३३ सालमा एलएलसी गरेका हुन् भने नेपाल ल क्याम्पसबाट बीएल गरेका छन् ।
मुलुकमा बहुदल स्थापनाका लागि भएको आन्दोलनमा सहभागी हुँदा उनी पटक/पटक जेल बसेका छन् । समग्र रूपमा उनले ५ वर्ष जेल जीवन बिताएका छन् ।
भुटनदेवी माविबाटै २०२८ देखि विद्यार्थी राजनीतिमा सक्रिय भएका हुन्, खतिवडा । करिब ३३ वर्षे राजनीतिक जीवनमा उनले बन्त्री बन्ने अवसर भने २०७८ मा पहिलो पटक प्राप्त गरेका थिए ।


