वीरगञ्ज, १३ पुस। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष तर्फ उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।
जसपा नेपाल पर्साले पर्सा – २ मा क्षेत्रीय समिति गठन गर्दै सोही बैठकबाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष तर्फका लागि सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरेको हो । बैठकले कामेश पण्डितको अध्यक्षतामा ५१ सदस्सीय समिति समेत गठन गरेको जसपा नेपाल पर्साका नेता घनश्याम गुप्ताले जानकारी दिए ।
पहिलो नम्बरमा उम्मेदवार सिफारिस हुनेमा जसपा नेपालका केन्द्रीय सदस्य तथा नेपाल उद्योग वाणिज्य सङ्घ मधेस प्रदेशका अध्यक्ष अशोककुमार टेमानी रहेका छन् । उनी वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष समेत हुन् । लामो समयदेखि उद्योग व्यवसायमा आबद्ध रहेका टेमानीले केही वर्ष अगाडि मात्रै जसपामा प्रवेश गर्दै जसपाको केन्द्रीय सदस्यमा मनोनीत भएका थिए ।
त्यस्तै दोस्रो नम्बरमा अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मीको नाम सिफारिस गरिएको छ । गत प्रतिनिधिसभा निर्वाचनमा पर्सा – २ मा जसपाकै उम्मेदवार बनेर निर्वाचन लडेका कुर्मीको नाम यस पटक पनि सिफारिस गरिएको छ । गत निर्वाचनमा कुर्मी नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री अजय कुमार चौरसियासँग पराजित भएका थिए ।
कुर्मी राष्ट्रिय प्रजातन्त्र पार्टीका पुराना नेता स्वर्गीय गोकुल कुर्मीका पुत्र हुन् । यद्यपि, कुर्मीले आफ्नो राजनीतिक यात्रा सद्भावना पार्टीबाट गरेका थिए । कालान्तरमा पार्टी एकीकरण र फुट्ने क्रमसँगै उनले गत निर्वाचनमा टिकेटका लागि लोकतान्त्रिक पार्टी त्यागेर जसपामा प्रवेश गरेका थिए ।
पछिल्लो समय कुर्मीले स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको मेयरमा चुनाव लड्ने चर्चा चले पनि पार्टीले प्रतिनिधिसभा सदस्यका रूपमा उनको नाम अघि सारेको छ । कुर्मीले जातीय राजनीति गर्ने गरेको आरोप समेत लाग्ने गरेको छ ।
उम्मेदवार सिफारिस हुने सन्तोष तिवारी वीरगञ्ज महानगरपालिका – १९ क पूर्व वडाध्यक्ष हुन् । तिवारी पनि लोसपा हुँदै जसपामा प्रवेश गरेका छन् । त्यस्तै वीरेन्द्र यादव पनि वीरगञ्ज महानगरपालिका – १६ की पूर्व वडाध्यक्ष सुखरानी कुमारी देवीका श्रीमान् हुन् ।
सोहीगरी आशुतोष चतुर्वेदी वीरगञ्ज महानगरपालिका – २५ का वडाध्यक्ष हुन् । उनको पनि विवादित पृष्ठभूमि छ ।


