समानुपातिक बन्दसूचीको म्याद परिमार्जन गर्न कांग्रेसको माग

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १३, आईतबार (१ महिना अघि)
  • ७ पटक पढिएको
समानुपातिक बन्दसूचीको म्याद परिमार्जन गर्न कांग्रेसको माग

काठमाडौं, १३ पुस। विघटित प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले निर्वाचन आयोगले तय गरेको समानुपातिकतर्फको बन्दसूची बुझाउने समय परिमार्जन गर्न माग गरेको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले शनिबार गरेको तीन दलका शीर्ष नेतासँगको बैठकमा सभापति शेरबहादुर देउवाले र गत सोमबार प्रधानमन्त्री कार्कीले नै बोलाएको सर्वदलीय बैठकमा सहमहामन्त्री महेन्द्र यादवले समानुपातिकको बन्दसूची बुझाउने समय परिमार्जन गर्न आग्रह गरेका हुन् ।

सरकारले फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन गर्ने कार्यतालिकासहितको मिति तोकेको छ । त्यो कार्यतालिकामा दलहरूले समानुपातिक तर्फको बन्दसूची बुझाउने समय पुस १३ र १४ गते अर्थात् आज र भोलिलाई तोकिएको छ । त्यो सूचीमा बुझाउन केही गाह्रो भएको भन्दै कांग्रेसले परिमार्जनका लागि आग्रह गरेको हो । 

शनिबार बालुवाटारमा प्रधानमन्त्री कार्कीले कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग निर्वाचनबारे छलफल गरेकी थिइन् । त्यो छलफलमा कांग्रेस सभापति देउवाले आफूहरू सरकारले निर्वाचनको वातावरण बनाए निर्वाचनमा जान तयार रहेको बताएका थिए । 

तर, समानुपातिकतर्फको बन्दसूची बुझाउने समय अपुग हुने भन्दै परिमार्जनका लागि आग्रह गरेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दियो । ‘कांग्रेस सभापतिज्यूले बैठकमा समानुपातिकतर्फको बन्दसूची बुझाउने तालिका परिमार्जन गर्न माग गर्नुभयो । प्रधानमन्त्रीज्यूले आयोगसँग बुझ्ने बताउनुभयो,’ बालुवाटार स्रोतले भन्यो । 

त्यसअघि पुस ७ गते सोमबार प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आह्वान गरेको सर्वदलीय बैठकमा कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले पनि बन्दसूची बुझाउने म्याद परिमार्जन गर्न माग गरेका थिए । मूल कार्यतालिकामा प्रभाव नपर्नेगरी समानुपातिक तर्फको सूची बुझाउने म्याद परिमार्जन गर्न उनको माग थियो । त्यो मागको खासै सुनुवाइ नभएपछि शनिबार देउवाले नै आग्रह गरे । त्यो आग्रह पनि सरकारले सुन्ने अवस्था त्यति देखिएको छैन ।  

निर्वाचन आयोगले सरकारलाई आयोगले निर्धारण गरेको तिथि मिति परिवर्तन गरेमा निर्धारित मितिमा निर्वाचन हुन नसक्ने बताएको जनाएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आफूहरूलाई बन्दसूची बुझाउने मिति सार्न कसैको औपचारिक आग्रह नआएको तर, सरकारलाई आफूहरूले तिथि मिति परिवर्तन गर्न थालिए निर्धारित मितिमा निर्वाचन हुन नसक्ने बताएको जानकारी दिए । 

‘हामीले सरकारलाई तिथि मिति सार्न थाल्नु भयो भने निर्धारित मितिमा निर्वाचन हुँदैन भनेका छौँ,’ कार्यवाहक निर्वाचन आयुक्त भण्डारीले रातोपाटीसँग भने, ‘सरकारसँग कसैले आग्रह गरेको भए होला । हामीलाई औपचारिक आग्रह आएको छैन । सरकारलाई कुनै तिथि मिति परिवर्तनको सिफारिस नगर्न आग्रह गरेका छौँ ।’ 

एक मन्त्रीले दलहरूले कार्यतालिका परिमार्जन गर्न आयोगलाई सिफारिस गर्न दबाब दिइरहेको बताए । आयोगले आफूहरूले हेरफेर गर्न सकिन्छ भनेर सोध्दा नमानेको ती मन्त्रीको भनाइ छ । ‘निर्वाचन आयोगले तालिका नै एकदमै टाइट भएकाले तलमाथि गर्न सकिने अवस्था नै छैन भन्छ । दलहरूको दबाब छ,’ ती मन्त्रीले भने । 

शनिबार तीन दलका शीर्ष नेताहरूसँग प्रधानमन्त्रीले आह्वान गरेको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले कार्यतालिका हेरफेरबारे निर्वाचन आयोगसँग परामर्श लिएको र उसले म्याद थप्न नसकिने जानकारी गराएको नेताहरूलाई जानकारी दिएका थिए । 

कांग्रेसलाई आयोगले निर्धारण गरेको समय अर्थात् भोलिसम्म बन्दसूची बुझाउन निकै सकस छ । अहिलेसम्म संसदीय समिति नबनाएको कांग्रेसले कार्यसम्पादन समितिबाट निर्णय गरेर बन्दसूची बुझाउने तयारी गरिरहेको छ । तर, बल्ल गुटगत सूची निर्माण गर्ने काम भइरहेकाले त्यसलाई एकीकृत गरी भोलिसम्म बुझाउन सक्ने सम्भावना न्यून रहेको कांग्रेसका एक नेता बताउँछन् । 

‘हामीले परिमार्जनका लागि आग्रह गरिरहेका छौँ, औपचारिक अनौपचारिक रूपमा सरकार मानिरहेको छैन,’ ती नेताले भने, ‘अन्तिमसम्म हेरौँ के हुन्छ ? यसै भन्न सक्ने अवस्था छैन ।’

ताजा अपडेट

खोजी गर्नुहोस