चुनावी प्रचारमा कडाइ : १० वटाभन्दा बढी राष्ट्रिय झन्डा प्रयोग गर्न निषेध

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १४, सोमबार (१ महिना अघि)
  • ३ पटक पढिएको
चुनावी प्रचारमा कडाइ : १० वटाभन्दा बढी राष्ट्रिय झन्डा प्रयोग गर्न निषेध

काठमाडौं, १४ पुस। राजनीतिक दल तथा उम्मेदवारले चुनावी प्रचारप्रसारका लागि आफ्नो कार्यालय बाहेकका स्थानमा कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न नपाउने भएका छन् ।

कसैको निजी घरजग्गा वा सार्वजनिक भवन, उद्यान, सडकका भित्ता वा पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झन्डा, दल वा उम्मेदवारको निर्वाचन चिह्न राख्न वा टाँस्न नहुने निर्वाचन आचारसंहितामा उल्लेख छ ।

निर्वाचन आयोगले जारी गरेको प्रतिनिधिसभा निर्वाचन लक्षित आचारसंहितामा चुनावी प्रचारलाई सभ्य र अनुशासित बनाउन विभिन्न प्रावधान ल्याएको छ । उम्मेदवार वा दलको कार्यालयमा मात्र साइनबोर्ड तथा कपडामा बनाइएको ३ फिट चौडा र ४ फिट लामो कपडामा दलको झन्डा र सोही नापको चुनाव चिह्नबाहेक अन्य सामग्री राख्न नपाइने आचारसंहितामा उल्लेख छ ।

दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झन्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी, क्याप, भेस्ट, टिसर्ट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट वा झोला वितरण तथा प्रयोगमा समेत रोक लगाइएको छ ।

जुलुस, आमसभा, कोणसभा, भेला वा प्रचारका कार्यक्रम बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म मात्र गर्नुपर्ने आचारसंहिताले भनेको छ । त्यसरी जुलुस, सभा लगायतका कार्यक्रम गर्दा २४ घण्टा अगावै स्थानीय प्रशासनको अनुमति लिनुपर्नेछ । जुलुस, सभा वा प्रचारप्रसारमा बालबालिकाको प्रयोग निषेधित गरिएको छ ।

निर्वाचन प्रयोजनका लागि ७५ ग्रामसम्मको कागजमा तीन सय वर्ग इन्चसम्म क्षेत्रफल भएको आकारको एउटै रङ र मुद्रकको नाम सहितको पर्चा मात्र प्रयोग गर्नुपर्ने भनिएको छ । मनोनयनपत्र पेस गर्न जाँदा वा घरदैलो कार्यक्रममा २५ जनाभन्दा बढीको जुलुस लान नपाइने व्यवस्था छ । बाजा, गाजा तथा झाँकीमा प्रतिबन्ध लगाइएको छ ।

अनलाइन वेब पेज, टीभी स्क्रोलिङ, सपिङ मलमा डिस्प्ले, कल सेन्टर सञ्चालन, बैंकका एटिएम काउन्टरमा सन्देश वा सडक नाटक आदि माध्यमबाट दलको वा उम्मेदवारको बारेमा कुनै प्रचारप्रसार गराउन मिल्दैन ।

आचारसंहिताअनुसार राजनीतिक दल वा उम्मेदवारले बढीमा एउटा निजी र आधिकारीक वेबपेजमा त्यस्तो प्रचार गर्न भने पाउनेछन् । दलको झन्डा वा उम्मेदवारको चुनाव चिह्नको तोरण बनाई सार्वजनिक प्रदर्शनमा समेत रोक लगाइएको छ ।

कुनै किसिमको भित्ते लेखन गर्न वा गराउन, चारपांग्रे गाडी मोटरसाइकल, साइकल, बायलगाडा, रिक्सा, टाँगा, ठेलागाडा लगायत सबै प्रकारका सवारीसाधन प्रयोग गरी र्‍याली आयोजना गर्न वा प्रचार गराउन नहुने आचारसंहिताको व्यवस्था छ ।

राष्ट्रिय झन्डा प्रयोगमा पनि नियन्त्रणको प्रयास आचारसंहिताले गरेको छ । आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्‍याली गर्दा बढीमा १० वटा राष्ट्रिय झन्डाको प्रयोग गर्न पाइनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस