एम्बुलेन्स दुरुपयोग गर्दै गाँजा ओसारपसार, ५२१ किलो बरामद

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १४, सोमबार (१ महिना अघि)
  • ३ पटक पढिएको
एम्बुलेन्स दुरुपयोग गर्दै गाँजा ओसारपसार, ५२१ किलो बरामद

विराटनगर, १४ पुस। बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गरी गाँजा तस्करी गरिरहेको अवस्थामा मोरङ प्रहरीले ठुलो परिमाणमा लागू औषध बरामद गरेको छ। आइतबार राति केराबारी गाउँपालिका–५ मा प्रहरीले ५ सय २१ किलो गाँजा बरामद गर्नुका साथै तस्करीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको हो।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारी र केराबारीबाट खटिएको संयुक्त टोलीले प्र.१–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्सलाई चेकजाँच गर्न खोजेको थियो। प्रहरी टोलीलाई देख्नासाथ एम्बुलेन्स छाडेर तस्करहरू भाग्न खोजेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो। सो क्रममा धनकुटा शहिदभुमी–६ का निश्चल राई र सागुरिगढी–२ का खगेन्द्र लिम्बु पक्राउ परेका छन्।

एम्बुलेन्सभित्र खानतलासी गर्दा १६ वटा पोकामा लुकाएर राखिएको ५ सय २१ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ। बिरामी बोक्ने बहानामा सुरक्षा निकायको आँखा छल्न एम्बुलेन्स प्रयोग गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। पक्राउ परेका व्यक्तिहरू र बरामद गाँजाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस