वीरगञ्ज, १५ पुस। पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका – ५ मा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्वको श्री पारसनाथ महादेव मन्दिर महुवन मठको लामो समयदेखि अतिक्रमित जग्गा खाली गराउन सरकारी निकायहरूले कडा कदम चालेका छन् ।
गुठी संस्थान र सखुवा प्रसौनी गाउँपालिकाले संयुक्त रूपमा जग्गा अतिक्रमणकारीहरूलाई ७ दिनभित्र संरचना हटाउन अन्तिम अल्टिमेटम जारी गरेका छन् ।
गुठी संस्थान शाखा कार्यालय वीरगञ्जकी कार्यालय प्रमुख उर्मिला आचार्यले पत्र जारी गर्दै महुवन मठको कित्ता नम्बर २७६ मा रहेको ५ बिघा १७ कट्ठा १४ धुर जग्गामा बनाइएका अनधिकृत घर–टहरा ७ दिनभित्र हटाउन स्पष्ट आदेश दिइएको छ ।
सोही पत्रको आधारमा गाउँपालिका अध्यक्ष जसवन्त यादवले पनि सार्वजनिक सूचना जारी गर्दै जग्गा खाली गरी धार्मिक सम्पत्तिको संरक्षणमा सहयोग गर्न आग्रह गरेका छन् । अध्यक्ष यादवले अटेर गरेमा कानुनअनुसार बल प्रयोग गरी संरचना हटाइने र खर्च अतिक्रमणकारीबाटै असुल गरिने चेतावनी दिएका छन् ।
विगत लामो समयदेखि जग्गा विवादित बन्दै आएको थियो र राजनीतिक हस्तक्षेप तथा दबाबका कारण समाधान हुन सकिरहेको थिएन । स्थानीय बासिन्दा उप्रान्त यादवले राजनीतिक दाउपेच र पूर्वाग्रहले जग्गा खाली हुन नसकेको बताए । “अहिले दुवै निकायका प्रमुखहरूले हस्ताक्षर गरेर पत्र काटेपछि जग्गा खाली हुने र मठको सम्पत्ति जोगिने आशा जागेको छ,” उनले भने ।
स्थानीयहरूले अब राजनीतिक प्रभावबिना निष्पक्ष कारबाही हुने विश्वास व्यक्त गरेका छन् । ७ दिनको समय सीमाभित्र स्वतः संरचना नहटाएमा सुरक्षा निकायको सहयोगमा डोजर चलाउने तयारी गाउँपालिकाले गरेको जनाइएको छ ।
घटनाले धार्मिक सम्पदाको संरक्षणमा नयाँ आशा जगाएको छ भने लामो समयदेखि अल्झिएको विवाद फास्ट ट्र्याकमा समाधान हुने सङ्केत देखिएको छ ।


