जाँचबुझ आयोगद्वारा देउवा र प्रचण्डलाई प्रश्न पठाइयो

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १८, शुक्रबार (१ महिना अघि)
  • ३ पटक पढिएको
जाँचबुझ आयोगद्वारा देउवा र प्रचण्डलाई प्रश्न पठाइयो

काठमाडौँ, १८ पुस। जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले कांग्रेस सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्न पठाएको छ । भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनमा दुवै नेताको घरमा उच्छृङ्खल समूहले आगजनी गरेका थिए ।

शान्तिपूर्ण प्रदर्शनमा किशोरहरूको ज्यान जानेगरी भएको घटनाबारे जाँचबुझ गरिरहेको आयोगले उनीहरूलाई बयानकै शैलीमा प्रश्न पठाएको आयोगका एकजना पदाधिकारीले बताए । ती पदाधिकारीले भने, ‘उहाँहरू दुवैजनालाई हामीले लिखित प्रश्न पठाएका छौँ ।’

न्यायाधिश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानमा बोलाउँदै पत्र लेख्ने तयारी गरिरहेको छ । शुक्रवार साँझसम्म ओलीलाई बयानमा उपस्थित हुन पत्राचार गरिने आयोगका एकजना पदाधिकारीले बताए ।  

उपत्यका छाड्न र विदेश जान रोक लगाएको ५ जनाको स्थानहद आयोगले फुकुवा गरेको छ । तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन गृहसचिव गोकर्णमणी दुवाडी, तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङ र काठमाडौँका तत्कालीन प्रजीअ छविलाल रिजालको स्थानहद आयोगले फुकुवा गरेको हो । राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापाको पनि स्थानहद र विदेश भ्रमण फुकुवा गरिएको छ ।

एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई उपत्यका छाड्न नपाउने र विदेश भ्रमणमा रोक लगाउने निर्णय कायमै छ । आयोगले अहिलेसम्म १५० जना भन्दा धेरैसँग बयान लिएको छ । तीमध्ये केहीलाई घटनाविवरण कागज गराइएको आयोगका एकजना सदस्यले बताए । उनले भने, ‘धेरैलाई बयान गराएका छौँ, घटनास्थलका प्रत्यक्षदर्शीलाई घटना विवरण कागज गराएका छौँ ।’ आयोगले केही मृतकका परिवारलाई पनि घटना कागज गराएको छ ।

जाँचबुझ आयोगले प्रधान सेनापति अशोकराज सिग्देल, सशस्त्रका महानिरीक्षक राजु अर्याल र नेपाल प्रहरीका आईजीपी दान बहादुर कार्कीसँग बयान लिएको छ ।

आयोगले जेनजी आन्दोलन हुँदा सशस्त्रको कार्य विभागको नेतृत्व गरेका एआईजी नारायणदत्त पौडेल, सशस्त्रका डीआईजी सुरेश श्रेष्ठ, नेपाल प्रहरीका डीआईजी ओम राना र एआईजी सिद्धिविक्रम शाह सहितका अधिकृतहरूसँग बयान लिएको थियो ।

आयोगले राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख (मुख्य अनुसन्धान निर्देशक) हुतराज थापा, पूर्वमुख्यसचिव एकनारायण अर्याल, राष्ट्रिय अनुसन्धान विभागको उपत्यका हेर्ने डीआईजी कृष्ण खनाल, नेपाल प्रहरीका एसपीद्ववय अपिल बोहरा र कुलदिप चन्दसँग बयान लिएको छ । 

ताजा अपडेट

खोजी गर्नुहोस