
काठमाडौँ, १८ पुस। स्विट्जरल्यान्डको एक स्की रिसोर्टमा रहेको बारमा आगो लाग्दा मृत्यु हुनेको संख्या ४० पुगेको छ । ११५ जना घाइते छन् । घाइतेहरुमध्ये धेरैको अवस्था गम्भीर रहेको अधिकारीहरुले बताएका छन् । नयाँ वर्षको उत्सव चलिरहेका बेला स्थानीय समय अनुसार बिहीबार बिहान करिब १:३० बजे क्रान्स–मोन्टानास्थित ली कन्स्टेलिसन नामको बारमा आगलागी भएको थियो ।
भालिस क्षेत्रको उक्त पर्यटकीय स्थलमा आगो निभाउन रातभर १३ वटा हेलिकप्टर, ४२ वटा एम्बुलेन्स र १५० आपतकालीन उद्धारकर्मी खटाइएका थिए । मृतक र घाइतेको ठ्याक्कै संख्या अझै पनि यकिन हुनसकिरहेको छैन । यद्यपि कम्तीमा ४० जनाको मृत्यु भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ ।
धेरै व्यक्तिहरु आगोमा जलेर घाइते भएका छन् । भालिसको सियोन अस्पतालमा मात्रै ६० जनालाई भर्ना गरिएको छ, जसमध्ये ‘धेरै जना अति गम्भीर अवस्थामा’ रहेको क्षेत्रीय गभर्नरलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
केही घाइतेलाई विशेष बर्न्स युनिट भएका स्विट्जरल्यान्डका अन्य शहरहरू, लोजान र ज्युरिखका अस्पतालमा पनि पठाइएको छ ।
लोजान युनिभर्सिटी अस्पतालमा २२ जना जलेका बिरामीको उपचार भइरहेको छ भने ज्युरिख युनिभर्सिटी अस्पतालले १२ जनाको उपचार गरिरहेको जनाएको छ । केहीको उपचार जेनेभा युनिभर्सिटी अस्पताल पनि भइरहेको छ ।
आगलागीमा परी विभिन्न देशका नागरिक प्रभावित भएका छन् । अधिकारीहरुले मृतक पहिचान र घाइतेको उपचार गरी आफन्तलाई जिम्मा लगाउने काम पहिलो प्राथमिकतामा रहेको बताएका छन् । मृतक र घाइतेको पहिचान गर्न अझै लामो समय लाग्न सक्ने बताइएको छ । पीडित परिवारहरुसँग सहजीकरणका लागि हेल्पलाइन नम्बर +४१ ८४८ ११२ ११७ खुला गरिएको छ ।
इटालीको विदेश मन्त्रालयले १६ जना इटालियन नागरिक बेपत्ता रहेको र १२ देखि १५ जनाले अस्पतालमा उपचार गराइरहेको जनाएको छ ।
फ्रान्सको विदेश मन्त्रालयले आठ जना फ्रान्सेली नागरिक बेपत्ता रहेको र मृतकमध्ये फ्रान्सेली पनि हुनसक्ने सम्भावना नकार्न नसकिने बताएको छ । फ्रान्सेली सञ्चारमाध्यमले कम्तीमा दुई घाइते फ्रान्सेली नागरिक रहेको रिपोर्ट गरेका छन् ।
तीन जना इटालियन नागरिकलाई मिलानको निघुवार्दा अस्पताल (जहाँ ठूलो बर्न्स युनिट छ) मा सारिंदैछ । उनीहरूको शरीरको ‘३०–४० प्रतिशत भाग जलेको’ इटालियन काउन्सिलर गुइडो बर्तोलासोले बताएका छन् । बिहीबार साँझको पत्रकार सम्मेलनमा अधिकारीहरूले आगो लाग्दा बारभित्र कति जना थिए भन्ने थाहा नभएको बताएका छन् ।
राज्य काउन्सिलर स्टेफान गान्जरले नयाँ वर्षको पार्टीका बेला उक्त बारमा युवाहरुको उत्सवमय भीड रहेको बताए । अटर्नी जनरल बियाट्रिस पिलुदले यो दु:खद् अवस्था कसरी उत्पन्न भयो भन्ने परिस्थितिको पहिचान गर्न अनुसन्धान सुरु गरिएको जानकारी दिइन् ।
पत्रकारहरूले चम्किने फ्लेयरसहितका स्याम्पेन बोतलहरू आगलागीको कारण हुन सक्ने हल्ला र सिँढीहरू ‘धेरै साँघुरा’ थिए कि थिएनन् भन्ने प्रश्न गर्दा उनले अनुसन्धान जारी रहेकाले केही पुष्टि गर्न नसकिने बताइन् ।
उनले सिंढी साँघुरा देखिए पनि तिनीहरू नियमअनुसार थिए कि थिएनन् भन्ने मूल्याङ्कन अनुसन्धानले गर्ने स्पष्ट पारिन् । स्विट्जरल्यान्डका लागि इटालियन राजदूत जियान लोरेन्जो कोर्नादोले मृतकको पहिचान गर्न हप्तौं लाग्न सक्ने बताए।
