गोली प्रहार प्रकरण : सफारी चालकमाथि गोली चलाउने एपीएफका हवलदार पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १८, शुक्रबार (१ महिना अघि)
  • ३ पटक पढिएको
गोली प्रहार प्रकरण : सफारी चालकमाथि गोली चलाउने एपीएफका हवलदार पक्राउ

विराटनगर, १८ पुस। सुनसरीको लौकहीमा भारतीय बजारबाट सामान लिएर नेपालतर्फ आउँदै गरेका सफारी चालकको मृत्यु हुने गरी गोली चलाउने सशस्त्र प्रहरी (एपीएफ) का हवलदारलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) वासुदेव घिमिरेले गोली प्रहार गर्ने हवलदार पक्राउ परेको शुक्रबार पुष्टि गरेका छन् ।

घटनापछि सिर्जित तनाव र अनुसन्धानको प्रक्रियाबारे जानकारी दिँदै सीडीओ घिमिरेले गोली हान्ने मुख्य व्यक्तिलाई नै नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाइएको बताए । कुराकानीमा उनले भने, ‘जसले गोली हानेको हो, उसलाई नियन्त्रणमा लिइएको छ ।’

यसैगरी घटनाको निष्पक्ष छानबिनका लागि सुनसरी प्रशासनले सहायक सीडीओ घनश्याम न्यौपानेको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता समेत रहेका डीएसपी चन्द्र खड्का र राष्ट्रिय अनुसन्धानका अधिकृत सदस्य रहेका छन् ।

सीडीओ घिमिरेले समितिलाई घटनाको सत्यतथ्य पत्ता लगाई प्रतिवेदन बुझाउन ७ दिनको म्याद दिइएको जानकारी दिए । प्रतिवेदन प्राप्त भएपछि सोही आधारमा थप कानुनी कदम चालिने प्रशासनले जनाएको छ ।

भारतीय बजारबाट सामान ल्याउँदै गरेका सफारी चालक विजय साहमाथि सशस्त्र प्रहरीले बिहीबार बिहानकाे राती गोली चलाउँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस