मधेशमा सडक दुर्घटनाको कहर, मृतकमा २१ प्रतिशत युवा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १८, शुक्रबार (१ महिना अघि)
  • ३ पटक पढिएको
मधेशमा सडक दुर्घटनाको कहर, मृतकमा २१ प्रतिशत युवा

वीरगञ्ज, १८ पुस। पछिल्लो समय विशेषगरी तराई-मधेश क्षेत्रमा सडक दुर्घटनाका घटनाहरू तीव्र रूपमा बढ्दै गएका छन्। नेपालमा सवारी दुर्घटनामा ज्यान गुमाउनेमध्ये करिब २१ प्रतिशत मधेश प्रदेशका रहेको तथ्यांकले दुर्घटनाको अवस्था भयावह बन्दै गएको संकेत गर्छ। यति गम्भीर अवस्था हुँदाहुँदै पनि दुर्घटना न्यूनीकरणका प्रयासहरू अपेक्षित रूपमा प्रभावकारी बन्न सकेका छैनन्।

नेपालमा हरेक वर्ष हजारौँ मानिस सडक दुर्घटनामा ज्यान गुमाउने गरेका छन् भने दर्जनौँ घाइते हुने गरेका छन्। गुणस्तरीय सडकको अभाव, निर्माणका क्रममा हुने भ्रष्टाचार, तीव्र गति, ट्राफिक नियमको बेवास्ता र लागुपदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्तिलगायत कारणले दुर्घटना बढिरहेको नागरिकको गुनासो छ।

चालु आर्थिक वर्षको मंसिरसम्म देशभर १३ हजार ८८० वटा सवारी दुर्घटना भएका छन्, जसमा १ हजार ४२ जनाको मृत्यु भएको छ। तीमध्ये मधेश प्रदेशमा मात्रै २२० जनाको ज्यान गएको छ। यसैगरी आर्थिक वर्ष ०८१/०८२ मा साउनदेखि मंसिरसम्म मधेश प्रदेशमा २ हजार ६७१ दुर्घटनामा १९१ जनाको मृत्यु भएको थियो भने ४ हजार ५७६ जना घाइते भएका थिए।

त्यसै अवधिमा देशभर ३ हजार ४८४ दुर्घटनामा २२० जनाको मृत्यु भएको र ५ हजार ६८५ जना घाइते भएको तथ्यांक रहेको छ। चालु आर्थिक वर्षको मंसिरसम्म सवारी दुर्घटनामा ज्यान गुमाउनेमध्ये २१ प्रतिशत मधेश प्रदेशका आठ जिल्लाका १७ देखि ३० वर्ष उमेर समूहका युवा रहेका छन्।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले महोत्तरीको बर्दिबासमा आयोजित एक कार्यक्रममा सडक दुर्घटनाबाट युवाहरू बढी प्रभावित भइरहेको जनाएको छ। युवामा प्रभावकारी सचेतना कार्यक्रम सञ्चालन गर्न सके दुर्घटनामा कमी आउन सक्ने स्थानीयको भनाइ छ।

स्थानीयका अनुसार तीव्र गति, सडकको दुरावस्था र लागुपदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्तिका कारण दुर्घटना बढ्दै गएको छ। यी गुनासोलाई गम्भीरतापूर्वक लिएको मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका प्रमुख गोविन्द थपलियाले बताएका छन्। उनले महोत्तरी जिल्लामा मात्रै पछिल्लो ६ महिनामा अघिल्लो वर्षको तुलनामा बढी दुर्घटना भएको जानकारी दिए।

मधेश प्रदेशको तथ्यांकअनुसार सडक दुर्घटनामा १६ देखि ४० वर्ष उमेर समूहका मानिसहरू बढी घाइते हुने तथा ज्यान गुमाउने गरेका छन्।

दुर्घटना न्यूनीकरणका लागि नियमित सवारी चेकजाँच, मापसे परीक्षण, विद्यालय तथा क्याम्पसमा सडक सुरक्षासम्बन्धी सचेतना कक्षा, सार्वजनिक स्थानमा स्टिकर, पर्चा–पम्पलेट टाँस्ने तथा सवारी चालकलाई लक्षित सचेतनामूलक कार्यक्रमहरू बढाउनुपर्ने सुझाव स्थानीयले दिएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस