सर्लाही, १९ पुस। सर्लाहीको लालबन्दी बजार क्षेत्रका विभिन्न वडामा विगत केही महिनादेखि घरधनी बाहिर गएको मौका छोपी ताल्चा फुटाएर चोरी हुँदै आएको घटनाको प्रहरीले खुलासा गरेको छ ।
इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले सूक्ष्म अनुसन्धान तथा निरन्तर निगरानीका क्रममा चोरीमा संलग्न व्यक्ति, चोरीका गरगहना बिक्री गर्ने तथा खरिदकर्तासमेतलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार लालबन्दी नगरपालिका–७ स्थित आरके ज्वेलर्सका सञ्चालक तथा लालबन्दी–१० चन्द्रपुर बस्ने दलबहादुर विकका छोरा अन्दाजी ४२ वर्षीय रमेश विक र लालबन्दी–६ बस्ने साइरा ज्वेलर्सका सञ्चालक छविलाल विकका छोरा अन्दाजी ३१ वर्षीय कुमार विकले बिल भरपाईबिनाको सुनका गरगहना खरिद गरेको विशेष सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो ।
सोधपुछका क्रममा ती गरगहना लालबन्दी–७ मा डेरा गरी बस्ने विदेशी साहकी श्रीमती अन्दाजी ३५ वर्षीया पिंकी देवी साहले बिक्री गरेको खुलेपछि उनलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पिंकी देवी साहको कोठा खानतलासी गर्दा दराजको लकरबाट तिलहरी १ थान, टप २ थान, मंगलसूत्र १ थान, औँठी १ थान, बाला १ थान, गेडी ८ थान र नगद १ लाख २ हजार ५ सय ६० रुपैयाँ बरामद गरिएको छ ।
बरामद गरगहनाहरू पीडितलाई देखाउँदा चोरीकै भएको सनाखत भएपछि मुख्य चोरी गर्ने, बिक्रीमा संलग्न र खरिदकर्तासमेतलाई नियन्त्रणमा लिई सर्लाही जिल्ला अदालतबाट चोरीसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
थप अनुसन्धानका क्रममा महोत्तरीको औराही गाउँपालिका–२ बस्ने रामविनय महतोका २४ वर्षीय छोरा रविन महतो समेत चोरीमा संलग्न रहेको खुलेको प्रहरीले बताएको छ । उनलाई १७ गते स्थानीय प्रहरीको सहयोगमा नियन्त्रणमा लिई घर खानतलासी गर्दा झुम्का २ थान, टप २ थान, औँठी १ थान, छड्के तिलहरी १ थान, हार्ड नेक्लेस १ थान, ल्यापटप १ थान तथा चोरीमा प्रयोग भएका औजार ५ थान बरामद गरिएको छ ।
हाल सबै अभियुक्तलाई अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बरामद गरगहनाहरू आफ्ना भएको दाबी गर्ने पीडितलाई सनाखतका लागि इलाका प्रहरी कार्यालय लालबन्दीमा उपस्थित हुन अनुरोध गरिएको छ ।


