काठमाडौं, २० पुस। मकवानपुरको हेटौडामा ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई कारले घिसारेर घाइते बनाई फरार भएका चालक र कारलाई प्रहरीले २४ घण्टाभित्रै नियन्त्रणमा लिएको छ । घटनामा संलग्न चालकलाई मादक पदार्थ (मापसे) जाँच गर्ने क्रममा भागेको आरोप लागेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) पुष्कर बोगटीका अनुसार, पुस १७ गते साँझ करिब ७:४५ बजे हेटौडा उपमहानगरपालिका – ११ थानाभर्याङमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट चेकिङ ड्युटीमा खटिएको टोलीले सवारी साधन जाँच गरिरहेको थियो ।
नवलपुरतर्फबाट हेटौडा बजारतर्फ आउँदै गरेको एउटा कार (त्यतिबेला नम्बर प्लेट स्पष्ट नदेखिएको) लाई रोकेर ब्रेथलाइजर मेसिनबाट मादक पदार्थ सेवन जाँच गर्ने क्रममा चालकले अचानक सिसा बन्द गरी गाडी अघि बढाएका थिए । सो क्रममा ड्युटीमा खटिएका प्रहरी जवान विजय प्रताप साहलाई करिब १० मिटरसम्म घिसारेका थिए । यसबाट प्रहरी जवान साह घाइते भएका थिए ।
घाइते प्रहरीलाई तत्काल हेटौडा अस्पतालमा उपचारका लागि पठाइएको थियो । घटनापछि फरार भएको कार र चालकको खोजी तीव्र पारिएकोमा पुस १८ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको समन्वयमा चितवनको भरतपुर महानगरपालिका – १० हाकिमचोकबाट उक्त कार र चालकलाई नियन्त्रणमा लिइएको डिएसपी बोगटीले जानकारी दिए ।
पक्राउ पर्ने चालक हेटौडा उपमहानगरपालिका – ४ गर्दैई बस्ने ४६ वर्षीय बासुदेव आचार्य रहेका छन् । कारको नम्बर बा ६ च ८४०९ रहेको छ । प्रहरीले ब्रेथलाइजर मेसिनसहित कार र चालकलाई नियन्त्रणमा लिई मकवानपुर ल्याएको छ । अहिले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनाले मापसे जाँचका क्रममा प्रहरीमाथि नै आक्रमण हुन सक्ने जोखिमलाई उजागर गरेको छ । प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउनेहरूमाथि कडा कारबाही गर्ने नीति अवलम्बन गर्दै आएको छ । यस्ता घटनाले सडक सुरक्षा र ट्राफिक नियम पालना गर्न थप सचेतना आवश्यक रहेको देखाएको छ ।
घाइते प्रहरी जवान साहको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । प्रहरीले यस घटनालाई गम्भीर रूपमा लिएर आवश्यक कानुनी कारबाही अघि बढाउने जनाएको छ ।


