वीरगञ्ज, २० पुस। धनुषाको मस्जिद आक्रमण घटनाको विरोधमा वीरगञ्जमा भएको मुस्लिम समुदायको प्रदर्शन आइतबार उग्र बनेको छ ।
प्रदर्शनकारीहरूले छपकैयास्थित श्रीराम हल नजिकै रहेको प्रहरी बिटमा तोडफोड गरेका छन् भने प्रहरी र प्रदर्शनकारीबिच झडप हुँदा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । ढुंगामुढाका क्रममा एक प्रहरी सामान्य घाइते भएका छन् ।
प्रदर्शनका क्रममा छपकैयाको इदगाह चोकमा प्रदर्शनकारी र प्रहरीबिच सामान्य झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले ५ राउन्ड अश्रुग्याँस प्रहार गरेको पर्सा प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) राजु कार्कीले जानकारी दिए ।
आक्रोशित प्रदर्शनकारीहरूको समूह श्रीराम हल नजिकैको प्रहरी बिटमा पुगेको र त्यहाँ व्यापक तोडफोड गरेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको बताइएको छ । प्रहरी बिटको फर्निचर, कागजात र अन्य सामग्रीहरूमा क्षति पुगेको छ ।
झडपका क्रममा एक जना प्रहरी सामान्य घाइते भएका छन् । घाइते प्रहरीको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले तोडफोड र झडपमा संलग्न प्रदर्शनकारीहरूलाई पहिचान गरी कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ । घटनापछि पर्सा प्रशासनले थप सुरक्षा सतर्कता अपनाउँदै क्षेत्रमा अतिरिक्त प्रहरी फौज परिचालन गरेको छ।


