सर्लाहीमा चौकीदारको विभत्स हत्या : टाउको बेपत्ता, शव अस्पताल लगियो

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २०, आईतबार (१ महिना अघि)
  • ३ पटक पढिएको
सर्लाहीमा चौकीदारको विभत्स हत्या : टाउको बेपत्ता, शव अस्पताल लगियो

सर्लाही, २० पुस। सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राइटरखोरस्थित सागरनाथ वन विकास परियोजनामा कार्यरत एक वन चौकीदारको विभत्स हत्या भएको छ। हतियार प्रयोग गरी हत्या गरिएका चौकीदारको टाउको अझै फेला पर्न नसकेको प्रहरीले जनाएको छ।

टाउकोविहीन शवलाई पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा ल्याईएको छ। प्रहरीका अनुसार राइटरखोरका ४७ वर्षीय रामइश्वर महतोको हत्या भएको हो। उनी परियोजनाअन्तर्गत ज्यालादारीमा वन हेरालुको जिम्मेवारी सम्हाल्दै आएका थिए।

प्रहरीका अनुसार शनिबार बिहान जंगल क्षेत्रमा रुख काटिएको आवाज आएपछि महतो साइकल चढेर निस्किएका थिए। त्यसपछि उनी फर्किएनन्। खोज्दै जाँदा साँझतिर जंगलभित्र महतोको बिभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। घटनास्थलमा उनको टाउको नभेटिएपछि नजिकै रहेको पोखरीमा फालिएको हुन सक्ने आशंकामा खोजी केन्द्रित गरिएको छ।

गएराति नै पोखरीमा जाल हान्ने प्रयास गरिए पनि बाक्लो कुहिरो र शीतलहरका कारण खोजी प्रभावकारी हुन सकेन। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आज बिहानदेखि माछा मार्न दक्ष व्यक्तिहरूको सहयोगमा पोखरीमा पुनः जाल हानी टाउको खोजी भइरहेको छ।

प्रहरीले घटनास्थलबाट रगतले लतपतिएको एउटा बन्चरो बरामद गरेको छ, जसलाई हत्या प्रयोजनमा प्रयोग गरिएको हुन सक्ने प्रारम्भिक अनुमान छ। टाउकोबिनाको शव भने मध्यराति नै अस्पताल पठाइएको हो।

हत्या घटनामा संलग्न भएको आशंकामा राइटरखोरकै एक स्थानीयलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। तर अनुसन्धान प्रभावित हुन सक्ने भन्दै पक्राउ परेकाबारे थप विवरण सार्वजनिक गरिएको छैन।

ताजा अपडेट

खोजी गर्नुहोस