
पर्सा, २१ पुस। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साले भारतबाट अवैध रूपमा चोरी पैठारी गरी नेपालतर्फ ल्याइँदै गरेका १० हजार गोटा ब्रोइलर कुखुराका चल्ला नियन्त्रणमा लिई नष्ट गरेको छ।
मिति २०८२/०९/२० गते सशस्त्र प्रहरी बल नं. १३ गणबाट खटिएको टोलीले पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–५, मसियानी क्षेत्रबाट भारततर्फबाट नेपाल प्रवेश गराइँदै गरेका ती चल्ला नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धानअनुसार करिब ९ जना व्यक्तिले टाउकोमा बोकी चल्ला नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले फेला पारेको जनाएको छ।
करिब रु. ५ लाख बराबर मूल्यका ती प्रतिबन्धित ब्रोइलर चल्लालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा क्वारेन्टाइन कार्यालयका प्रतिनिधिहरूको रोहबरमा नं. १३ गण परिसरभित्र नष्ट गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
सीमा क्षेत्रबाट हुने अवैध चोरी पैठारी नियन्त्रणका लागि निगरानी कडा पारिएको र यस्ता गैरकानुनी गतिविधिमा संलग्नलाई कारबाही गरिने सशस्त्र प्रहरी बलले जनाएको छ।
उक्त जानकारी सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (स.प्र.ना.उ.) विश्वराज योन्जनले दिएका हुन्।
