
सर्लाही, २१ पुस। पूर्व–पश्चिम हुलाकी सडकखण्ड अन्तर्गत सर्लाहीको कौडेना गाउँपालिका–३ स्थित पर्सा पोखरी नजिक सोमबार दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ ।
दुर्घटनामा संलग्न एक मोटरसाइकलबाट ठूलो परिमाणमा गाँजा बरामद भएको प्रहरीले जनाएको छ । बीआर ३० एफ १४६९ र बीआर ०६ सिएन ७४४२ नम्बरका मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।
बीआर ३० एफ १४६९ नम्बरको मोटरसाइकल चालक मलंगवा नगरपालिका–७ निवासी ३८ वर्षीय हरदास यादव र पछाडि सवार उनका ७० वर्षीय बुवा अमिन्द्र राय यादव घाइते भएका छन् । दुवैको उपचार प्रादेशिक अस्पताल मलंगवामा भइरहेको छ ।
यस्तै, बीआर ०६ सिएन ७४४२ नम्बरको मोटरसाइकल चालक दुर्घटनालगत्तै फरार भएका थिए । घटनास्थलमा छाडिएको उक्त मोटरसाइकलको सिटमुनी लुकाएर राखिएको ४ किलो ७१० ग्राम गाँजा प्रहरीले बरामद गरेको छ ।
दुर्घटनापछि फरार रहेका मोटरसाइकल चालक कौडेना गाउँपालिका–१ निवासी रवीन्द्र गिरीलाई मलंगवा नगरपालिका–१० क्षेत्रमा पैदल हिँडिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ ।
