
रौतहट, २१ पुस। २५ औँ सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा सशस्त्र प्रहरीले राैतहटका विभिन्न पालिकामा कम्बल वितरण गरेकाे छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटको सहकार्य तथा सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेड क्वाटर रौतहटको समन्वयमा राैतहटकाे तीन वटा स्थानिय तहमा २ सय जनालाई चिसाे छल्न कम्बल वितरण गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेड क्वाटर रौतहटले जनाएको छ।
चिसो तथा शीतलहरको मौसमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी राैतहटले २५ औँ सशस्त्र प्रहरी दिवसकाे अवसरमा स्थानीय जनप्रतिनिधि तथा भद्रभलाद्मीहरूको उपस्थितिमा जिल्लाकाे ईशनाथ,बाैधिमाई र राजदेवी नगरपालिकाकाे २ सय जना विपन्न तथा सिमान्तकृत परिवारलाई राहत स्वरूप कम्बल वितरण गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेड क्वाटर रौतहटका सशस्त्र प्रहरी निरीक्षक शंकर थापाले जानकारी दिनु भएको छ ।
सशस्त्र प्रहरी निरीक्षक थापाका अनुसार राैतहटकाे ईशनाथ नगरपालिका वडा नं. ४ रामनगर बस्तीका ७० घरपरिवार, बौधिमाई नगरपालिका वडा नं. ७ राम बस्तीका ७० घरपरिवार तथा राजदेवी नगरपालिका वडा नं. ८ लक्ष्मिपुर बस्तीका ६० घरपरिवार गरी जम्मा २०० घरपरिवारलाई कम्बल वितरण गरिएको छ।
चिसो मौसममा गरिब तथा असहाय समुदायलाई राहत पुर्याउने उद्देश्यले कम्बल वितरण कार्यक्रमले स्थानीय स्तरमा सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।
