काठमाडौं, २१ पुस। इन्दु बर्माको कप्तानीमा आइसिसी महिला टी ट्वान्टी विश्वकपको ग्लोबल छनोट खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ।
घरेलु मैदानमा आगामी फागुन माघ २२ देखि फागुन ९ गतेसम्म विश्वकपको ग्लोबल छनोट आयोजना हुँदै छ। नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार सोही ग्लोबल छनोट खेल्ने १५ सदस्यीय नेपाली टोली घोषणा गरेको हो।
इङ्ल्यान्ड र वेल्समा हुने विश्वकपमा स्थान बनाउने लक्ष्य राखेको नेपाली टोलीमा अधिकांश पुरानै अनुहार समेटिएका छन्। भारतीय प्रशिक्षक हर्षल पाठकको प्रशिक्षणमा नेपाली टोलीले तयारी गरिरहेको छ। पाठकले २० सदस्यीयबाट अन्तिम टोली घोषणा गरेका हुन्। नेपाली टोलीमा अनुभवी क्रिकेटर रुबिना क्षेत्री र सीता रानामगर समेटिएका छन्। साथै उनले रचना चौधरी, रिया शर्मा र मनीषा उपाध्याय जस्ता युवा क्रिकेटरलाई समावेश गरे।
पूजा महतो (उपकप्तान), बिन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रोमा थापा, सोमु विष्ट र राजमती ऐरीले स्थन बनाएका छन्। सोनी पाख्रिन र सना प्रभिन जस्ता युवा खेलाडी भने टोलीमा स्थान बनाउन असफल रहे।
ग्लोबल छनोटमा नेपाल समूह ‘बी’ मा छ। यस समूहमा स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बाब्वे र नेदरल्यान्ड्स छन्। समूह ‘ए’ मा बंगलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी (पिएनजी) नामिबिया र अमेरिका छन्। नेपालले माघ ४ गते मूलपानीमा थाइल्यान्डसँग खेल्दै छनोटको सुरुआत गर्नेछ। त्यसपछि नेपालले माघ ८ गते नेदरल्यान्डससँग प्रतिस्पर्धा गर्ने तालिका छ। तेस्रो खेलमा नेपालले त्रिवी मैदानमा माघ १० गते जिम्बाब्वेको सामना गर्नेछ।
समूहको अन्तिम खेलमा माघ १२ गते हुनेछ। जहाँ नेपालले स्कटल्यान्डसँग त्रिवी मैदानमै प्रतिस्पर्धा गर्ने तालिका छ। दुवै समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा छनोट हुनेछन्। सुपर सिक्सबाट शीर्ष चार टोलीले सन् २०२६ जुन १२ देखि जुलाई ५ सम्म इङल्यान्ड र वेल्समा हुने आइसिसी महिला टी ट्वान्टी विश्वकपमा स्थान बनाउनेछन्।
ग्लोबल छनोटअघि प्रत्येक टिमले २÷२ अभ्यास खेल खेल्नेछन्। अभ्यास खेलमा नेपालले पुष ३० गते मूलपानीको तल्लो मैदानमा आयरल्यान्ड र त्यसको दुई दिनपछि त्रिवी मैदानमा अमेरिककासँग खेल्ने तालिका छ।


