रमेश कुमार यादव
पुस २९ गते ।
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकामा नगरस्तरीय पोषण तथा खाद्य सुरक्षा सम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । चन्द्रपुर नगरपालिकाको सभाहलमा सोमबार आयोजना गरिएको उक्त कार्यक्रममा नगरपालिकाका विशिष्ट व्यक्तित्वहरू, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । नगरपालिकाको सहकार्य तथा पोषण परियोजना, केयर नेपाल र आईडी संस्थाको समन्वयमा सम्पन्न कार्यक्रममा स्वास्थ्य र पोषण अधिकृत विभत्स भुसालले पोषण तथा खाद्य सुरक्षासम्बन्धी समसामयिक अवस्था, चुनौती र भावी कार्यदिशाबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभयो ।
उहाँले कुपोषण न्यूनीकरणका लागि स्थानीय तह, स्वास्थ्य संस्था, समुदाय र सरोकारवाला निकायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।अन्तक्र्रिया कार्यक्रममा सहभागीहरू तथा विभिन्न संस्थाहरूबीच महत्वपूर्ण निर्णयहरू गरिएको छ । संरक्षण नेपाल र चन्द्रपुर नगरपालिकाको सहकार्यमा नगरपालिकाभित्र कार्यरत महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरूलाई परिचालन गरी विज्ञमार्फत पोषण लेखाजोखा तथा व्यवस्थापन कार्यक्रम सञ्चालन गर्ने, तथ्यांक सूचना व्यवस्थापन प्रणालीको प्रयोग र अध्यावधिकसम्बन्धी तालिम प्रदान गर्ने निर्णय गरिएको छ । उक्त तालिम सम्पन्न भएपछि नगरभर पोषण लेखाजोखा अभियान सञ्चालन गरिने जनाइएको छ ।
अभियानअन्तर्गत पहिचान भएका कडा शीघ्र कुपोषण (sam) तथा मध्यम शीघ्र कुपोषण (mam) भएका बालबालिकाहरूलाई स्थानीय स्वास्थ्य संस्था तथा बहिर उपचार केन्द्रमा सिफारिस गरी आवश्यकता अनुसार उपचार तथा व्यवस्थापन गरिनेछ । साथै कुपोषित बालबालिका, गर्भवती तथा सुत्केरी महिलाहरूका अभिभावक, परिवारका सदस्य तथा हेरालुहरूलाई महिला स्वास्थ्य स्वयंसेविकामार्फत पोषण शिक्षा, परामर्श सेवा तथा घरायसी स्तरमा पोषणयुक्त खानपानको अभ्यासबारे सचेतना कार्यक्रम सञ्चालन गरिने निर्णय पनिगरिएको छ ।
उपचारपछि निको भएका र पोषण पुनःस्थापना गृह केन्द्रमा भर्ना भई सुधार भएका कडा शीघ्र कुपोषण (SAM) भएका बालबालिकाहरूको प्रमाणीकरण भएपछि पुनर्लाभका लागि थप सहयोग प्याकेज उपलब्ध गराइनेछ । यस अन्तर्गत खाद्य सामग्री, स्वच्छता सामग्री तथा विविधतापूर्ण पोषण बगैंचा स्थापना गर्ने व्यवस्था गरिनेछ । त्यस्तै मध्यम शीघ्र कुपोषण (MAM) पहिचान भएका बालबालिकाहरूलाई तोकिएको मात्रामा पोषिलो पिठो वितरण गरिने निर्णय गरिएको छ। कार्यक्रममा नगरपालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरूलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्ने र क्रमशः वडा तहसम्म पोषणमैत्री वडा घोषणा गर्ने लक्ष्यसहित आवश्यक कार्यहरू अघि बढाउने निर्णय पनि गरिएको छ ।


