रौतहट, ०२ माघ। नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनबाट देवप्रसाद तिमलसिना, नागेन्द्र साह र अञ्जु झा केन्द्रीय सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन् ।
रौतहटबाट एकैपटक तीन जना केन्द्रीय सदस्य निर्वाचित हुनु जिल्लाका लागि ऐतिहासिक उपलब्धि मानिएको छ । क्षेत्र नम्बर १ अन्तर्गत दुर्गा भगवती गाउँपालिकाका नागेन्द्र साह, इशनाथ नगरपालिकाकी अञ्जु झा र चन्द्रपुर नगरपालिकाका देवप्रसाद तिमलसिना निर्विरोध निर्वाचित भएपछि जिल्लाबासीमा उत्साह थपिएको छ ।
एकैसाथ तीन जना केन्द्रीय सदस्य चयन हुनु रौतहटका लागि गौरवको विषय भएको उल्लेख गर्दै स्थानीय नेताहरूले यसले पार्टीभित्र समावेशी र नयाँ नेतृत्वको उदयलाई संकेत गर्ने बताएका छन्। नवनिर्वाचित पार्टी केन्द्रिय अध्यक्ष गगनकुमार थापाको नेतृत्वमा बनेको नयाँ टिमले नेपाली काँग्रेसलाई थप ऊर्जा दिने विश्वास व्यक्त गरिएको छ ।
लामो समयदेखि संस्थापन पक्षको प्रभावमा पार्टी सीमित हुँदै गएको आरोपका बीच अब युवापुस्ताको काँधमा आएको जिम्मेवारीले काँग्रेसलाई नयाँ दिशातर्फ लैजाने अपेक्षा गरिएको छ ।


