काठमाडौं, २९ माघ। रौतहटमा सशस्त्र प्रहरी र बन सुरक्षा टोलीले अवैध सालको काठ बोकेको एकथान टाटा सुमो गाडी र एकथान मोटरसाइकल बरामद गरेको छ। जंगलसहिया क्षेत्रमा अवैध साल काठ तस्करी भइरहेको अवस्थामा संयुक्त गस्ती टोलीले काठसहितको उक्त सवारीसाधन बरामद गरेको हो। जंगलसहिया सब–डिभिजन वन कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले बुधबार राति करिब ९ः३० बजे गस्तीको क्रममा दुईथान सालको गोलिया काठ बरामद गरेको हो।
जंगलसहिया सब–डिभिजन वन कार्यालयका प्रमुख विनोद जेठाराको नेतृत्वमा खटिएको टोलीले नियमित गस्तीका क्रममा जंगलसहिया साझेदारी वनअन्तर्गत बागमती नहर नजिक शंकास्पद गतिविधि देखेपछि जाँच गरेको थियो। सो क्रममा भारतीय नम्बर प्लेटको सुमो गाडीमा लोड गरिएको साल काठ र ना ६७ प १०५१ नम्बर प्लेटको मोटरसाइकल बरामद गरिएको डिवीजन बन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
टोली पुग्नासाथ काठ तस्करीमा संलग्न तस्करहरू सवारीसाधन छाडेर फरार भएको डिभिजन प्रमुख हेमन्त कुमार साहले बताएका छन्। बरामद गरिएको काठ, सुमो र मोटरसाइकल डिभिजन वन कार्यालय रौतहटमा राखिएको छ।
काठको नाप जाँच तथा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको, फरार तस्करहरूको खोजी कार्य जारी रहेको प्रमुख साहले ले जानकारी दिएका छन्।
अगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा वन क्षेत्रमा काठको तस्करी बढ्ने सम्भावना लाई लक्षित गरेर जिल्ला भरिनै सशस्त्र प्रहरीसहितको संयुक्त गस्ती टोली परिचालनलाई कडाइ गरिएको डिभिजन बन कार्यालय रौतहटले जनाएको छ।


