काठमाडौं, ४ फागुन। काठमाडौँ महानगरपालिका वडा नम्बर ९ गौशाला स्थित तिलगंगा सडकबाट प्रहरीले गाँजासहित एक जना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ७ घर भएर हाल गौशाला बस्दै आएका ३६ वर्षीय लाल बहादुर तामाङ छन् ।
उनको साथबाट ८ केजी गाँजा बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । आइतबार महाशिवरात्रि पर्वमा पशुपति मन्दिर परिसरमा गाँजाको व्यापार गर्न लागेको सूचनाको आधारमा आरोपी पक्राउ परेका हुन् ।
तामाङले बेच्न हिँडेको अवस्थामा झोलाबाट ४ केजी र डेरा खानतलासी गर्दा ४ केजी गाँजा भेटिएको हो । उनी विरुद्ध प्रहरी वृत्त गौशालाले लागुऔषध मुद्दामा अनुसन्धान गरिरहेको छ ।


