रौतहट,०६ फागुन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले धनगढीमा आयोजित चुनावी सभामा आफ्नो पहिलो प्रमुख सम्बोधन गरेका छन् ।
बुधवार सुदूरपश्चिमको राजधानी धनगढीमा रास्वपाको ‘परिवर्तन उद्घोष सभा’ लाई सम्बोधन गर्दै उनले पार्टी भोट माग्न होइन, काम माग्न आएको जोड दिए ।
झापा-५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका बालेनले भने, “राष्ट्रिय स्वतन्त्र पार्टी भोट माग्न होइन, काम माग्न आएको हो । तपाईँहरूले भोट नदिए पनि काम गर्छौँ । कामको लिस्ट दिनुस्, रास्वपाले काम गरेर देखाउँछ ।” उनले भोट नदिए पनि सुदूरपश्चिममा विकासका काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
केही मिनेटको संक्षिप्त सम्बोधनका क्रममा उनले नेपाल आफैँ सुन्दर भएको उल्लेख गर्दै “माल पाएर चाल नपाएको” भन्दै स्विट्जरल्यान्ड किन बनाउनुपर्यो भनेर प्रश्न गरे । सुदूरपश्चिमलाई “सु–नजिक” (सुन्दर र नजिक) प्रदेश बनाउनुपर्नेमा जोड दिँदै उनले भने, “सुदूरपश्चिम अब सु–नजिक पश्चिम हुनुपर्छ ।”
उनको प्रमुख एजेन्डामध्ये विकास निर्माणमा ढिलासुस्ती अन्त्य गर्ने विषय थियो । “दुई वर्षमा बन्नुपर्ने बाटो २० वर्षसम्म बन्दैन, डेढ वर्षमै बन्नुपर्यो,” उनले भने, “रुखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि, खोरमा जाकेर हुन्छ—बाटो बन्नुपर्यो ।” रास्वपा सरकारमा गए काँग्रेस, एमाले, माओवादी सबैले हिँड्ने बाटो बनाउने उनको भनाइ थियो ।
विपन्न तथा गरिब वर्गका लागि शिक्षा र स्वास्थ्य उपचार निःशुल्क तथा पहुँचयोग्य बनाउने, सुदूरपश्चिमका कलाकारहरूको स्वर काठमाडौँका चोकमा घन्काउने जस्ता मुद्दा पनि उनले उठाए ।
सम्बोधनको अन्त्य गर्दै उनले कार्यकर्ता तथा समर्थकहरूतर्फ हेर्दै “धेरै धेरै माया तम्लाई ! आई लभ यू” भनेर भावुक बने । “आँखा हेर्न पर्दैन, म धेरै बोल्दिनँ,” उनले छोटकरीमा मन्तव्य टुङ्ग्याए ।
सभा रास्वपाको सुदूरपश्चिम प्रदेशस्तरीय चुनावी अभियानको महत्त्वपूर्ण कार्यक्रम थियो । सभामा पार्टी सभापति रवि लामिछानेले पनि सम्बोधन गरेका थिए । बालेनको सम्बोधनले रास्वपाको काम-केन्द्रित चुनावी रणनीति र सुदूरपश्चिममा विकासको प्रतिबद्धतालाई जोड दिएको छ ।


