बैतडी, ०७ फाल्गुन। बैतडीमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र तथा अन्य निर्वाचन सामग्री आइपुगेको छ । फागुन २१ गते हुने निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुवैतर्फका मतपत्र मंगलबार जिल्ला ल्याइएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय बैतडीका सहायक निर्वाचन अधिकृत विष्णुराज पन्तका अनुसार प्रत्यक्षतर्फ एक लाख ६८ हजार र समानुपातिकतर्फ एक लाख ७१ हजार मतपत्र आइपुगेका छन् ।
निर्वाचन कार्यालय बैतडीका प्रमुख खगेन्द्र भारतीले निर्वाचनका लागि आवश्यक अन्य सामग्री पनि आइपुगेको जानकारी दिए ।
मतपेटिका भने अघिल्लो निर्वाचनकै प्रयोग गरिने जनाइएको छ । निर्वाचन आयोगबाट प्राप्त सामग्री रुजु गरी सुरक्षित राखिएको र छिट्टै सम्बन्धित मतदान केन्द्रमा पठाइने तयारी भइरहेको छ ।
जिल्लामा निर्वाचन तयारी तीव्र पारिएको छ । बैतडीमा कुल एक लाख ५६ हजार तीन सय ७२ मतदाता रहेका छन् । एक निर्वाचन क्षेत्र रहेको जिल्लामा एक स्वतन्त्र उम्मेदवारसहित ११ जनाको उम्मेदवारी परेको छ ।
जिल्लाभर एक अस्थायी केन्द्रसहित २१५ मतदान केन्द्र रहेका छन् । १२९ मतदानस्थलमध्ये ३३ अतिसंवेदनशील, २८ संवेदनशील र ६८ सामान्य सूचीमा परेका छन् ।


