उन्नत कृषि प्रविधि र कृषि यान्त्रिकीकरण सम्बन्धी दुई दिने जिल्ला स्तरीय कृषक तालिम सम्पन्न

उन्नत कृषि प्रविधि र कृषि यान्त्रिकीकरण सम्बन्धी दुई दिने जिल्ला स्तरीय कृषक तालिम सम्पन्न

रौतहट, २८ वैशाख। रौतहटमा उन्नत कृषि प्रविधि, प्राथमिक प्रशोधन, पोस्ट हार्भेष्ट क्षति न्यूनीकरण तथा कृषि यान्त्रिकीकरण सम्बन्धी दुई दिने जिल्ला स्तरीय कृषक तालिम सम्पन्न भएको छ ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सर्लाही÷रौतहटका आयोजनामा बैशाख २६ गते शनिबारदेखि सञ्चालन भएको तालिम आइतबार सम्पन्न भएको हो । चन्द्रपुर नगरपालिका वडा नं. ९ सन्तपुरस्थित साना किसान कृषि सहकारी संस्थाको सभाहलमा आयोजना गरिएको तालिममा रौतहटका विभिन्न स्थानीय तहका ४२ जना कृषकहरूको सहभागिता रहेको थियो ।

कृषकहरूलाई आधुनिक कृषि प्रविधिबारे व्यवहारिक तथा प्राविधिक ज्ञान प्रदान गर्दै कृषि उत्पादन वृद्धि, लागत न्यूनीकरण तथा बाली कटानीपछिको क्षति कम गर्ने उद्देश्यले तालिम आयोजना गरिएको आयोजकले जनाएको छ । तालिमको पहिलो दिन राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सर्लाही÷रौतहटका वरिष्ठ कृषि अधिकृत डा. सुरेन्द्र यादवले प्रशिक्षण दिनुभएको थियो ।

उहाँले परम्परागत खेती प्रणालीलाई आधुनिक र व्यवसायिक कृषि प्रणालीमा रूपान्तरण गर्न आवश्यक प्रविधि, उपकरण तथा व्यवस्थापन विधिका बारेमा विस्तृत जानकारी गराउनुभएको थियो । डा. यादवले कृषकहरूलाई उन्नत बीउबिजनको प्रयोग, माटो परीक्षण, सिँचाइ व्यवस्थापन, आधुनिक कृषि औजारको प्रयोग, बाली उत्पादनमा मेसिनरीको महत्व तथा कृषि उत्पादनलाई बजारमुखी बनाउने उपायबारे जानकारी दिनुभएको थियो । उहाँले कृषि क्षेत्रमा प्रविधिको प्रयोगले उत्पादन लागत घटाउनुका साथै उत्पादन वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

त्यसैगरी तालिमको दोस्रो दिन कृषि अधिकृत ज्ञान कुमार यादवले पोस्ट हार्भेष्ट व्यवस्थापन सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । उहाँले बाली कटानीपछि हुने नोक्सानी कम गर्न अपनाउनुपर्ने वैज्ञानिक विधि, खाद्यान्न तथा तरकारीको सुरक्षित भण्डारण, ग्रेडिङ, प्याकेजिङ तथा बजार व्यवस्थापनका विषयमा व्यवहारिक प्रशिक्षण दिनुभएको थियो ।

उहाँले विशेषगरी धान, गहुँ, मकै, तरकारी तथा फलफूलमा कटानीपछिको अनुचित व्यवस्थापनका कारण ठूलो मात्रामा क्षति हुने भएकाले आधुनिक भण्डारण प्रणाली, चिस्यान नियन्त्रण तथा प्राथमिक प्रशोधन प्रविधि अपनाउनुपर्नेमा जोड दिनुभयो । कृषकहरूलाई उत्पादनको गुणस्तर कायम राख्दै बजार मूल्य वृद्धि गर्न पोस्ट हार्भेष्ट व्यवस्थापन अत्यन्त आवश्यक रहेको उहाँको भनाइ थियो । तालिमका क्रममा मिनी टिलर, पावर टिलर, रिपर, थ्रेसर, स्प्रे मेसिन लगायतका आधुनिक कृषि यन्त्रहरूको प्रयोग तथा सञ्चालनबारे जानकारी दिइएको थियो ।

कृषि यान्त्रिकीकरणले श्रम अभावको समस्या समाधान गर्नुका साथै समय बचत, उत्पादन वृद्धि र कृषि कार्यलाई सहज बनाउने विषयमा प्रशिक्षकहरूले जोड दिएका थिए । कार्यक्रममा सहभागी कृषकहरूले तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई गाउँघरमा समेत विस्तार गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

प्रशिक्षकहरूले पनि सिकेका कुरालाई व्यवहारमा लागू गर्दै अन्य कृषकहरूलाई समेत जानकारी गराउन आग्रह गरेका थिए । सहभागी कृषक रमेश कुमार यादवले यस्ता तालिमले व्यवसायिक कृषि गरिरहेका किसानहरूलाई धेरै सहज हुने बताउँदै ग्रामीण क्षेत्रमा अझ बढी यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

उहाँले कृषिमा महिलाहरूको भूमिका महत्वपूर्ण भएकाले आगामी तालिमहरूमा महिला सहभागिता अनिवार्य बनाउनुपर्ने सुझाव समेत दिनुभयो । कार्यक्रममा पशु चिकित्सक डा. मुकेश कुमार यादव, कृषि प्राविधिक शत्रुधन कुमार महतो लगायतको उपस्थिति रहेको थियो । आयोजकले आगामी दिनमा पनि कृषकहरूको क्षमता अभिवृद्धिका लागि यस्ता व्यवहारिक तथा प्रविधिमैत्री तालिमलाई निरन्तरता दिइने जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस