
काठमाडौ, ११ जेठ। बेल्जियममा पहिलोपटक आयोजना हुन लागेको फ्रेन्चाइज क्रिकेटमा छनोट भएका ७ नेपाली क्रिकेटरले सो प्रतियोगिता खेल्न नपाउने भएका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टीमको सेड्यूलसँग जुधेपछि उनीहरुलाई नेपाल क्रिकेट संघ (क्यान)ले अनुमति नदिएको हो ।
बेल्जियमको इयू टी–२० क्रिकेट लिगमा नेपालका आसिफ शेख, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, अनिलकुमार साह, ललित राजवंशी, सन्दीप लामिछाने, लोकेश बम, डा. ईशान पाण्डे र गुल्शन झा खरिद भएका थिए ।
‘क्यानसँग करारमा रहेका खेलाडीहरुको पहिलो प्राथमिकता भनेको नेशनल ड्युटी हो । नेपालको राष्ट्रिय टीमले एसियन गेम्स क्वालिफायर र ‘ए’ टीमले पनि भारतमा विभिन्न म्याचहरु खेल्दैछ । त्यही भएर क्यानले दुईजना खेलाडीलाई बेल्जियमको लिग खेल्न अनुमति दिएको छ ।’ उनले नेपाल प्रेससँग भने ।
बेल्जियम लिग जुन ६ देखि सुरु हुँदैछ । नेपालले मे ३१ देखि जुन ९ सम्म सिंगापुरमा एसियन गेम्स क्वालिफायर खेल्ने तालिका सार्वजनिक भएको छ ।
अर्कोतर्फ भारतको उत्तराखण्डमा मे २२ देखि जुन २, २०२६ सम्म सञ्चालन हुने ४२औँ अल इन्डिया गोल्ड कप क्रिकेट प्रतियोगितामा नेपाल ए टीमले सहभागिता जनाउनेछ ।
बेल्जिमयका फ्रेन्चाइजी टीमहरुले सामाजिक सञ्जालमा नेपाली खेलाडीहरु अनुबन्धित गरिएको भनेर प्रचारसमेत गरेका थिए । तर, क्यानले सेलेक्सन कमिटी र टेक्निकल कमिटीसँग छलफल गरेर दुई खेलाडीलाई मात्रै पठाउनु उचित हुने ठहर्याएको हो ।
पाण्डे र झा आवद्ध जेबी ब्रुज नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्स (जेबी) को लगानीकर्ता कम्पनी ड्रिम स्पोट्र्सको स्वामित्वमा रहेको टोली हो ।
यसअघि एन्टवर्प एंकर्सबाट आसिफ शेख र लोकेश बम, ग्लेन्ट ग्लाडिएटर्सबाट रोहित पौडेल, जेबी ब्रुजबाट दीपेन्द्र सिंह ऐरी, अनिलकुमार साह, ललितनारायण राजवंशी तथा लिएज रेड लायन्सबाट सन्दीप लामिछानेले खेल्ने तय भएको थियो ।
