
काठमाडौं, २६ जेठ। उपाध्यक्ष रामवहादुर थापा ‘बादल’ संयोजक रहेको नेकपा एमाले पुनर्गठन कार्यदलको पहिलो बैठकमा अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएका छन् ।
बैठक एमाले पार्टी कार्यालय च्यासलमा मंगलबार सुरु भएको हो । बैठकमा कार्यदलको कार्यविधि निर्माणबारे छलफल हुने बुझिएको छ ।
ओली मंगलबार बिहान ११ बजेअघि नै पार्टी कार्यालय च्यासल पुगेका थिए ।
जेठ १० गते एमाले केन्द्रीय सचिवालयको आठौं बैठकले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरण सहितको पुनर्गठन कार्ययोजना तयार गर्न थापाको नेतृत्वमा १५ सदस्यीय कार्यदल बनाएको थियो । कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने समयसीमा तोकिएको छ ।
