
काठमाडौं, २७ जेठ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्र भारतको इतिहासमा नयाँ राजनीतिक कीर्तिमान कायम गरेका छन् । लगातार कार्यकालका आधारमा उनी भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको रेकर्ड तोड्दै देशका सबैभन्दा लामो समयसम्म निरन्तर पदमा रहने प्रधानमन्त्री बनेका छन् ।
मोदीले सन् २०१४ मे २६ मा पहिलोपटक प्रधानमन्त्रीको पदभार सम्हालेका थिए । त्यसयता निरन्तर ४ हजार ३९९ दिन प्रधानमन्त्रीको जिम्मेवारी निर्वाह गर्दै उनले नेहरूको ४ हजार ३९८ दिनको कीर्तिमानलाई उछिनेका हुन् ।
नेहरु भारत बेलायतको उपनिवेशबाट मुक्त भएपछि मृत्युपर्यन्त निरन्तर प्रधानमन्त्री थिए । सबैभन्दा लामो कार्यकालको रेकर्ड पनि उनकै नाममा थियो ।
यो उपलब्धिपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत भारतीय जनतालाई धन्यवाद दिएका छन् । उनले यो उपलब्धि आफ्नो व्यक्तिगत सफलताभन्दा पनि १४० करोड भारतीय नागरिकको विश्वास, समर्थन र लोकतान्त्रिक शक्तिको विजय भएको बताएका छन्।
मोदीले लेखेका छन्-यो उपलब्धि मेरो मात्र होइन, भारतका जनताको हो। लोकतन्त्रप्रतिको विश्वास, संविधानप्रतिको आस्था र देशलाई विकसित भारत बनाउने सामूहिक संकल्पको परिणाम हो।
उनले आगामी दिनमा पनि जनताको सेवा, सुशासन, विकास र राष्ट्रनिर्माणप्रति प्रतिबद्ध रहने बताएका छन्।भारतीय जनता पार्टी (भाजपा) का नेताहरूले मोदीको उपलब्धिलाई ऐतिहासिक भन्दै प्रशंसा गरेका छन्। उनीहरूले मोदीको नेतृत्वमा भारतले आर्थिक विकास, पूर्वाधार निर्माण, डिजिटल रूपान्तरण तथा विश्व मञ्चमा प्रभाव विस्तार गरेको दाबी गरेका छन्।
यद्यपि विपक्षी दलहरूले भने कीर्तिमानभन्दा शासनको गुणस्तर महत्वपूर्ण हुने टिप्पणी गरेका छन्। कांग्रेससहितका विपक्षी दलहरूले बेरोजगारी, महँगी, सामाजिक ध्रुवीकरण तथा लोकतान्त्रिक संस्थामाथिका चुनौतीहरूलाई उठाउँदै सरकारको आलोचना गरेका छन्।
मोदी हाल आफ्नो तेस्रो कार्यकालमा छन् र सन् २०२४ को लोकसभा निर्वाचनपछि पुनः प्रधानमन्त्री बनेका थिए। उनका समर्थकहरूले यस उपलब्धिलाई भारतको राजनीतिक इतिहासमा महत्वपूर्ण अध्यायका रूपमा व्याख्या गरेका छन् ।
