भूमिहीन दलित परिवारलाई सिरहामा हाते ट्याक्टर वितरण

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ २८, बिहिबार (२ घण्टा अघि)
  • ३१ पटक पढिएको
भूमिहीन दलित परिवारलाई सिरहामा हाते ट्याक्टर वितरण

 सिरहा, २८ जेठ।  सिरहाको दक्षिणी सीमावर्ती नवराजपुर गाउँपालिकामा भूमिहीन दलित परिवारलाई खेतीपातीमा आत्मनिर्भर बनाउन १२ वटा हाते ट्याक्टर वितरण गरिएको छ ।

‘एकीकृत जीविकोपार्जन तथा कृषि सुधार परियोजना’अन्तर्गत पाँच वडाका ३८ कृषक समूहमध्ये १२ समूहलाई हाते ट्याक्टर वितरण गरिएको हो । यस परियोजनामा गाउँपालिका, दलित जनकल्याण युवा क्लब र मेनोनाइट सेन्ट्रल कमिटीले सहकार्य गरेका छन् ।

१२ समूहमा आबद्ध ३०४ सदस्यले पालैपालो प्रयोग गर्ने गरी आठ लाख ४२ हजार ९५३ रुपैयाँ बराबरको हाते ट्याक्टर वितरण गरिएको क्लबका अध्यक्ष उमेकुमार विसुन्केले जानकारी दिए । उनका अनुसार हाते ट्याक्टरसँगै इञ्जिन तथा गियर तेल र डिजेलसमेत उपलब्ध गराइएको छ ।

परियोजनाअन्तर्गत भूमिहीन दलित परिवारलाई लिजमा लिइएको जग्गामा अन्न तथा तरकारी खेती गर्न, आयआर्जनका लागि किराना तथा घुम्ती कपडा पसल सञ्चालन गर्न समेत सहयोग गरिएको छ ।

सामाजिक परिचालक सन्तोषकुमार विसुन्केका अनुसार हाते ट्याक्टर सञ्चालनका लागि किसानहरुलाई तालिम दिइएको छ भने प्रत्येक समूहमा एक–एक जना चालकसमेत तोकिएको छ ।

स्थानीय सुलेना सदायका अनुसार परियोजनामार्फत वार्षिक ४१ हजार १०० रुपैयाँमा लिजमा लिइएको दुई बिघा पाँच कठ्ठाभन्दा बढी जग्गा १० भूमिहीन परिवारले खेती गरिरहेका छन् । खेतीबाट परिवारको खाद्य सुरक्षासँगै बचतसमेत हुन थालेको उनी बताउँछिन् ।

यस्तै, छिमेकी बरियारपट्टि गाउँपालिकाका चार वडाका आठ समूहलाई पनि पाँच लाख ६१ हजार ९६८ रुपैयाँ मूल्य बराबरका हाते ट्याक्टर उपलब्ध गराइएको परियोजना संयोजक लालप्रसाद पोखरेलले जानकारी दिए । उनका अनुसार लिजमा उपलब्ध गराइएको जग्गामा खेती गर्दै भूमिहीन दलित परिवारले आफ्नो आर्थिक अवस्था सुधार्न थालेका छन् ।

बरियारपट्टि गाउँपालिका-३ का वडाध्यक्ष विनोदकुमार यादवले भूमिहीन दलित परिवारको सुरक्षित बसोवास, बालबालिकाको शिक्षा, सरसफाइ र सामाजिक सुधारका लागि वडास्तरबाट समेत पहल भइरहेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस