वाम एकताको चर्चाबीच आज एउटै मञ्चमा ओली र प्रचण्ड

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ १४, आईतबार (१ महिना अघि)
  • ७१ पटक पढिएको
वाम एकताको चर्चाबीच आज एउटै मञ्चमा ओली र प्रचण्ड

काठमाडौं, १४ असार। नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच पुनः एकताको राजनीतिक बहस चलिरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लामो समयपछि एउटै मञ्चमा देखिने भएका छन्।

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनद्वारा आइतबार राष्ट्रिय सभा गृहमा आयोजना हुने ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विशेष विचार गोष्ठीमा दुवै शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। पछिल्लो समय वामपन्थी दलहरूबीच सहकार्य र एकताको चर्चा चलिरहेका बेला उनीहरूको संयुक्त उपस्थितिलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

फाउन्डेसनका कार्यवाहक सचिव भेषराज अधिकारीका अनुसार दिउँसो १ बजेदेखि सुरु हुने कार्यक्रममा अध्यक्ष ओली र संयोजक प्रचण्डसँगै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्ने कार्यसूची रहेको छ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले अध्यक्ष ओलीको सहभागिता पुष्टि गरेका छन् भने प्रचण्डका सहयोगी गोविन्द आचार्यले पनि प्रचण्डको उपस्थितिको समय तय भइसकेको जानकारी दिएका छन्।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा आयोजना हुने कार्यक्रममा जननेता मदन भण्डारीको जीवनीमा आधारित पुस्तक ‘श्वेतशार्दूल : मदन भण्डारीको जीवन’ का लेखक रमेश रुछेन राईलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

पछिल्ला दिनहरूमा वाम शक्तिहरूबीच कार्यगत एकता र सहकार्यबारे बहस चलिरहेका बेला प्रमुख वाम नेताहरूको एउटै मञ्चमा हुने उपस्थितिलाई राजनीतिक रूपमा चासोका साथ हेरिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस