
काठमाडौँ, १२ साउन। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका सबै अस्पताललाई कुनै पनि अवस्थामा स्वास्थ्य सेवा अवरुद्ध नगर्न निर्देशन दिएको छ। चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले उपचार सेवा नियमित रूपमा सञ्चालन गर्न आग्रह गरेको हो।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा मंगलबार जारी विज्ञप्तिमा चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भइरहेका आक्रमणका घटनालाई सरकारले गम्भीर रूपमा लिएको उल्लेख गरिएको छ। विज्ञप्तिमा घटनामा संलग्न व्यक्तिहरूको सीसीटीभी फुटेजका आधारमा पहिचान गरी कानुनी कारबाहीका लागि सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढाइसकेको जानकारी दिइएको छ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणपछि स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले घाइते मेडिकल अफिसर डा. प्रमोद रामलाई थप उपचारका लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर पठाउने व्यवस्था मिलाउनुका साथै स्वयं ट्रमा सेन्टर पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन्।
मन्त्रालयले दोषीमाथि कडा कानुनी कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिइएको तथा स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन निरन्तर समन्वय र पहल भइरहेको जनाएको छ।
विज्ञप्तिमा स्वास्थ्य सेवा अत्यावश्यक, जीवनरक्षक तथा संवेदनशील सेवा भएकाले नागरिकको उपचारमा कुनै पनि प्रकारको अवरोध आउन नहुने उल्लेख गरिएको छ। साथै, सुरक्षित र सम्मानजनक वातावरणमा सेवा प्रदान गर्न पाउनु स्वास्थ्यकर्मीको मौलिक अधिकार भएको जनाउँदै सबै अस्पताललाई उपचार सेवा निरन्तर सञ्चालन गर्न मन्त्रालयले आग्रह गरेको छ।

