
रौतहट ,१६ कात्तिक। जनता समाजवादी पार्टी (नेपाल)का केन्द्रीय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले जनतालाई अनेकौँ आश्वासन बाँडेर सत्तामा पुगेको वर्तमान सरकारले जनतामा निराशा मात्रै बढाएको आरोप लगाएका छन् ।
चुनावका बेला सुशासन, भ्रष्टाचार नियन्त्रण र जनताको जीवनस्तर सुधार गर्ने प्रतिबद्धता जनाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार अहिले ती सबै क्षेत्रमा असफल भइरहेको यादवको दाबी छ ।
अग्रगामी मोर्चाको लुम्बिनी प्रदेश समन्वय समितिले आइतबार बाँकेको नेपालगञ्जमा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै यादवले सरकारका कामकारबाहीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका हुन् ।
उनले वर्तमान सरकारको पालामा भ्रष्टाचार र कमिसनतन्त्र नियन्त्रण हुनुको सट्टा झन् बढ्दै गएको तथा महँगी दोब्बर भएको आरोप लगाए । दिनभर काम गरेर परिवारको छाक टार्ने गरिब तथा विपन्न नागरिक अहिले थप आर्थिक सङ्कटमा परेको उनको भनाइ थियो ।
‘भ्रष्टाचार र कमिसनतन्त्र नियन्त्रणमा छैन, बरु बढ्दै गएको छ । महँगी दुई गुणा बढेको छ । गरिब जनता, जसले दिनभर काम गरेर भोजन जुटाउँछन्, उनीहरू सङ्कटमा परेका छन्,’ यादवले भने, ‘शिक्षाको गुणस्तर कमजोर हुँदै गएको छ, सरकारी विद्यालयमा पढाइ भइरहेको छैन, सरकारी अस्पतालमा उपचार पाइँदैन र स्वास्थ्य बिमा योजना असफल भइरहेको छ ।
गरिबका लागि यो सरकार साथमा छैन, सुशासनको त नामोनिसान नै छैन ।’
पूर्वउपप्रधानमन्त्री यादवले वर्तमान सरकार विदेशी ऋणबाट सञ्चालन भइरहेको आरोपसमेत लगाए । विगतमा कांग्रेस र कम्युनिस्ट नेतृत्वका सरकारबाट आजित भएका जनताले अहिले पनि अपेक्षित परिवर्तनको अनुभूति गर्न नसकेको उनको दाबी थियो ।
यादवले सङ्घीयता, लोकतन्त्र र संविधानको रक्षा गर्न अग्रगामी मोर्चा गठन गरिएको उल्लेख गर्दै मुलुकमा देखिएका राजनीतिक तथा संवैधानिक सङ्कटविरुद्ध जनतालाई सचेत गराउन आफूहरू देशव्यापी अभियानमा निस्किएको बताए ।
कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतले जनताका अधिकार र चाहना पूरा गराउन अब आन्दोलन अपरिहार्य भएको बताए । त्यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्मा र आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले देशलाई सही दिशामा ल्याउन राष्ट्रव्यापी जागरण अभियान सुरु गरिएको उल्लेख गरे ।
अग्रगामी मोर्चाले लुम्बिनी प्रदेशअन्तर्गत रुपन्देही र बाँकेमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको जनाएको छ । बाँकेका अध्यक्ष कौशल धोबीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशका सयौँ नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
