
धनुषा,१६ कात्तिक। धनुषाको नगराइन नगरपालिका–९ घोरघासका गौरीशंकर पण्डित गाउँमा हुँदा बुवाआमालाई खेतीपातीमा सघाउँथे । खेतीको कामबाट फुर्सद मिलेको समयमा पढ्थे । दु:ख र संघर्षका बीच उनको पढाइ अघि बढिरहेको थियो । अहिले उनी धनुषामै ब्याचलर चौथो वर्षमा अध्ययनरत छन् ।
आर्थिक अभावले उनलाई बेलाबेला सताउँथ्यो । तर, अभावले उनको सपना रोक्न सकेन । सरकारी जागिर खाने लक्ष्य बोकेर एक वर्षअघि उनी काठमाडौं आए । ललितपुरको ग्वार्कोमा डेरा लिएर बस्न थाले ।
काठमाडौंमा उनको दैनिकी पढाइ र संघर्षमै बित्न थाल्यो । मोटरसाइकलको लाइसेन्स भएकाले उनले राइड सेयरिङ (पठाओ, इन्ड्राइभ, याङ्गो चलाउने काम) गर्न थाले । दिनभरि मोटरसाइकल चलाएर जीविकोपार्जन गर्ने र फुर्सदमा लोक सेवा आयोगको तयारी गर्ने उनको दिनचर्या बन्यो ।
सरकारी सेवामा प्रवेश गर्ने लक्ष्यसहित लोक सेवाका परीक्षामा सहभागी पनि भए । तर, नतिजा उनले सोचेअनुसार आएन । त्यसले केही निराश बनाए पनि उनले प्रयास गर्न छाडेका छैनन् ।
यही संघर्षपूर्ण दैनिकीबीच अहिले उनको जीवनमा खुसीको एउटा अप्रत्याशित खबर आएको छ । करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत पण्डितले १० लाख रुपैयाँ उपहार जितेका छन् ।
उनले गत कात्तिक ५ गते ललितपुरको धापाखेलस्थित बिगमार्टबाट ४१५ रुपैयाँको तोरीको तेल किनेका थिए । सामान किनेपछि ई–सेवामार्फत भुक्तानी गरेका थिए । त्यही खरिदको बिलका आधारमा लक्की ड्रमार्फत् उनी १० लाख रुपैयाँको विजेता बनेका हुन् । उनको कुपन नम्बर ०९८०४६५५८१७५ हो ।
आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले आज फोन गरेर १० लाखको विजेता बनेको जानकारी दिँदा उनी खुसीले दंग परे । साथै बिजेता घोषणा कार्यक्रमस्थलबाटै क्रिकेटर ललित राजवंशीले पनि उनलाई फोन गरेर बधाई दिएका थिए ।
अनलाइनखबरसँग कुरा गर्दै पण्डितले १० लाख रुपैयाँ जित्दा अत्यन्तै खुसी लागेको बताए । ‘यति रकम त मैले वर्षभर गाडी चलाउँदा पनि कमाउन सक्दिनथेँ,’ उनले अनलाइनखबरसँग भने, ‘सामान किन्दा सबैले अनिवार्य रूपमा बिल लिनुपर्छ । यसले फाइदा हुन्छ भन्ने मेरो अनुभव भयो ।’
घरका दुई भाइमध्ये कान्छो सदस्य पण्डितले उपहारस्वरूप प्राप्त हुने रकमको सदुपयोग गर्ने योजना पनि बनाएका छन् । ‘गाउँमा रहेको घर मर्मत गर्ने र बाँकी रकम लोक सेवा आयोग पढ्ने काममा खर्च गर्ने सोच छ,’ उनले अनलाइनखबरसँग भने ।
उनलाई सामान खरिद गरेको प्रमाण (बिल)सहित जनकपुरस्थित आन्तरिक राजस्व कार्यालयमा सम्पर्क गरी रकम पाउने प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ । प्रक्रिया पूरा भएपछि आगामी मंसिर १ गते काठमाडौंमा आयोजना हुने कार्यक्रममा अर्थमन्त्रीको हातबाट १० लाख रुपैयाँको चेक हस्तान्तरण गर्ने कार्यक्रम छ ।
एकातिर ६ सदस्यीय परिवारको आर्थिक अवस्था सुधार्ने जिम्मेवारी, अर्कोतिर सरकारी जागिर खाने सपना । यी दुवैका बीच संघर्ष गरिरहेका पण्डितका लागि ४१५ रुपैयाँको खरिद अप्रत्याशित खुसी बनेर आएको छ ।
साथै सामान किन्दा बिल लिनु उपभोक्ताको अधिकार र जिम्मेवारी दुवै हो भन्ने सन्देश पनि उनको यो संयोगले दिएको छ ।
