
रमेश कुमार यादब
मंसिर ०७, रौतहट
रौतहटको गरुडा नगरपालिका–९ श्रीपुरस्थित दलित बस्तीमा दलित समुदायको आवश्यकता र मागलाई मध्यनजर गर्दै धर्मशाला भवन निर्माण कार्य अघि बढाइएको छ । सार्वजनिक जग्गामा निर्माण हुन लागेको उक्त धर्मशाला भवनको सोमबार गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जैसवालले एक कार्यक्रमबीच विधिवत् शिलान्यास गर्नुभएको हो ।करिब १५ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको धर्मशाला भवन एक तल्ले हुनेछ । भवनमा बरन्डासहित दुईवटा कोठा रहने जनाइएको छ ।

पुरोहितद्वारा वैदिक मन्त्र वाचन तथा धार्मिक विधिअनुसार पूजापाठ गरी भवनको शिलान्यास गरिएको थियो ।शिलान्यास कार्यक्रममा नगर प्रमुख जैसवालले दलित समुदायको लामो समयदेखिको आवश्यकता र स्थानीयवासीको पटक(पटकको आग्रहलाई सम्बोधन गर्दै धर्मशाला निर्माणको काम अघि बढाइएको बताउनुभयो । उहाँले दलित समुदायका नागरिकलाई विवाह, व्रतबन्धलगायत विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्न उपयुक्त स्थानको अभाव हुँदै आएको उल्लेख गर्दै धर्मशाला निर्माणले उक्त समस्या समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नगर प्रमुख जैसवालले धर्मशाला निर्माणलाई अधुरो नराखी आवश्यक बजेटको व्यवस्था गरेर निर्माण कार्य सम्पन्न गराउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । आफ्नै कार्यकालमा भवन निर्माण सम्पन्न गर्ने गरी सम्बन्धित पक्षलाई आवश्यक निर्देशन दिँदै उहाँले निर्माण कार्यमा स्थानीयवासीले पनि आफ्नो तर्फबाट सक्दो सहयोग र सहकार्य गर्न आग्रह गर्नुभयो ।

उहाँले स्थानीय तहको विकास भनेको सडक, नाला र भौतिक पूर्वाधार निर्माणमा मात्र सीमित नभई समाजका सबै वर्ग तथा समुदायको आवश्यकता सम्बोधन गर्नु पनि भएको बताउनुभयो । विशेषगरी पछाडि पारिएका तथा आवश्यक पूर्वाधारको अभाव झेलिरहेका समुदायलाई प्राथमिकतामा राखेर विकास निर्माणका कामलाई अगाडि बढाउनुपर्ने उहाँको भनाइ थियो ।धर्मशाला निर्माण भएपछि श्रीपुरका दलित समुदायका स्थानीयवासीलाई विवाह, व्रतबन्ध, भोजभतेर तथा अन्य सामाजिक र सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ ।
यसअघि आफ्नै समुदायका कार्यक्रम आयोजना गर्न उपयुक्त भवनको अभाव हुँदा स्थानीयवासीले विभिन्न समस्या भोग्दै आएका थिए । धर्मशाला निर्माण सम्पन्न भएपछि सामुदायिक भेटघाट तथा सामाजिक गतिविधि सञ्चालनका लागि समेत उपयोगी हुने स्थानीयको विश्वास छ । कार्यक्रममा गरुडा नगरपालिका–९ का वडाध्यक्ष राजेश सहनीले दलित समुदायको आवश्यकतालाई बुझेर धर्मशाला निर्माणको पहल गर्नुभएकोमा नगर प्रमुख जैसवालप्रति आभार व्यक्त गर्नुभयो ।

उहाँले नगर प्रमुख जैसवालले नगरपालिकाभित्र विकास निर्माण तथा जनताको आवश्यकता सम्बोधन गर्ने सवालमा प्रशंसनीय काम गर्दै आएको बताउनुभयो । वडाध्यक्ष सहनीले विशेषगरी आफ्नो वडामा नगर प्रमुखले देखाउनुभएको चासो र विकासप्रतिको सक्रियताको प्रशंसा गर्दै उहाँको कार्यकालमा भएका कामहरू उल्लेखनीय रहेको धारणा राख्नुभयो । उहाँले नगर प्रमुख जैसवालले आफ्नो कार्यकालमा गरेका कामहरू अन्य नेतृत्वले लामो समयसम्म पनि गर्न नसक्ने दाबीसमेत गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा स्थानीय समाजसेवी रेवती ठाकुर, पूर्ववडाध्यक्ष लगायत स्थानीय अगुवाहरूले पनि आ–आफ्नो धारणा राख्दै दलित धर्मशाला निर्माणको पहललाई सकारात्मक र स्वागतयोग्य कदमका रूपमा लिएका थिए । उनीहरूले धर्मशाला निर्माणले दलित समुदायको सामाजिक तथा सांस्कृतिक गतिविधिलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै नगर प्रमुख जैसवालको पहलको प्रशंसा गरेका थिए । स्थानीय समुदायको लामो समयदेखिको आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले सुरु गरिएको यस धर्मशाला निर्माण कार्य समयमै सम्पन्न भए श्रीपुरका दलित समुदायका लागि सामाजिक कार्यक्रम सञ्चालन गर्न महत्वपूर्ण सार्वजनिक पूर्वाधार बन्ने अपेक्षा गरिएको छ ।

