
रमेश कुमार यादब
मंसिर ०७, रौतहट
रौतहटको देवाही गोनाही नगरपालिका–६ कर्कचस्थित भित्री सडकखण्डमा म्याजिक र मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जना गम्भीर घाइते भएका छन् ।सोमबार साँझ करिब ६ बजे भएको दुर्घटनामा मोटरसाइकलमा सवार एक पुरुष र दुई महिला घाइते भएका हुन्। प्राप्त विवरण अनुसार मौलापुरबाट कटहरियातर्फ जाँदै गरेको ना.४ च ७८०४ नम्बरको म्याजिक र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेट बिआर ३० के ८६३० नम्बरको मोटरसाइकल कर्कचस्थित सडकखण्डमा एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकलमा सवार तीनै जना गम्भीर घाइते भएका हुन्। दुर्घटनामा परोहा नगरपालिका–३ तेजापाकड निवासी मोटरसाइकल चालक सुरेन्द्र ठाकुरको अनुहार, टाउको र निधारमा चोट लागेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। त्यस्तै, मोटरसाइकलको पछाडि सवार सोही स्थानकी २५ वर्षीया सरिता देवीको खुट्टामा चोट लागेको छ। दुर्घटनामा बारा जिल्लाको महागढीमाई
नगरपालिका–१ दहियार भवानीपुर निवासी अन्दाजी २४ वर्षीया उषा कुमारीसमेत घाइते भएकी छन्।
उनको टाउको र निधारमा चोट लाग्नुका साथै खुट्टामा समेत चोट लागेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। तीनै जना घाइतेको अवस्था गम्भीर रहेकाले उनीहरूलाई उपचारका लागि पर्साको वीरगञ्जस्थित नारायणी न्युरो एण्ड जनरल अस्पताल रिसर्च सेन्टर प्रालिमा भर्ना गरिएको छ । उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट प्रहरी नायब निरीक्षक उमेश कुमार मेहताको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले दुर्घटनामा संलग्न म्याजिक र मोटरसाइकल दुवैलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।
यसैबीच, दुर्घटनामा संलग्न म्याजिकका चालक चन्द्रपुर नगरपालिका–६ निवासी अन्दाजी २७ वर्षीय राजु चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। म्याजिकका साहु देवाही गोनाही नगरपालिका निवासी अरुण साह भने घाइतेहरूको उपचारमा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। दुर्घटना कसरी र के कारणले भएको हो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

