भरतपुरमा कारभित्रै आगलागी हुँदा एक जनाको ज्यान गयो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २६, शुक्रबार (१ महिना अघि)
  • ११० पटक पढिएको
भरतपुरमा कारभित्रै आगलागी हुँदा एक जनाको ज्यान गयो

काठमाडौं, २६ भदौ। चितवनको भरतपुर महानगरपालिका–९ वसन्तचोकमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी हुँदा कारभित्र रहेका एक जनाको जलेर मृत्यु भएको छ ।

आज (शुक्रबार) बिहान करिब ६:०० बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र. ०१–०३० च ५५७९ नम्बरको विद्युतीय कारमा गुडिरहेकै अवस्थामा एक्कासि आगलागी भएको हो । आगलागीको सूचना पाउनासाथ जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।

आगो पूर्ण रूपमा नियन्त्रणमा आएपछि कारभित्र खोजी गर्दा एक जना व्यक्ति जलेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतकको शरीर पूर्ण रूपमा जलेका कारण नाम, थर र ठेगाना खुल्न सकेको छैन । मृतक चालक वा यात्रु को हुन् भन्नेबारे सनाखतको प्रयास भइरहेको छ ।

आगलागीबाट विद्युतीय कार पूर्ण रूपमा नष्ट भएको छ । गुडिरहेको विद्युतीय कारमा एक्कासि कसरी आगलागी भयो भन्नेबारे प्राविधिक कारण अध्ययन भइरहेको र घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस