आफ्नै घर बाढीले पुरियो, अरूको आँसु पुछ्दै हिँड्छन् जनप्रतिनिधि रविन्द्र

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक २, आईतबार (१२ घण्टा अघि)
  • ३८ पटक पढिएको
आफ्नै घर बाढीले पुरियो, अरूको आँसु पुछ्दै हिँड्छन् जनप्रतिनिधि रविन्द्र

काठमाडौँ। विदुर नगरपालिका वडा नं. ७ को बाढी प्रभावित क्षेत्रमा दिनहुँजसो एउटा परिचित अनुहार देखिन्छ । कहिले बाढीले बगाएको बाटो पन्छाउँदै गरेको अवस्थामा, कहिले घरबारविहीन भएका नागरिकलाई सान्त्वना दिँदै, कहिले राहत व्यवस्थापनको दौडधुपमा व्यस्त ।

उनी हुन्– नुवाकोटको विदुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रविन्द्र नेपाल ।

जनप्रतिनिधि भएका नाताले उनी सिङ्गो वडाको आड–भरोसा हुन्, समस्याको समाधान खोज्ने ‘नेतृत्व’ हुन् । त्यसैले उनी आफ्नो जिम्मेवारी र भूमिकालाई जस्तोसुकै परिस्थितिमा पनि जनताकै हितमा केन्द्रित गरेर निर्वाह गरिरहेका पाइन्छन् ।

जनप्रतिनिधि भन्ने उनको पहिचानलाई केहीबेर बिर्सिने हो भने उनी पनि भोटेकोशी बाढीबाट पीडित एक नागरिक हुन् । उनले आफू पीडित भएको पीडालाई समेत ओझेलमा राखेर वडावासीका निमित्त आफ्नो अभिभावकीय भूमिका निर्वाह गर्नु परिरहेको छ । त्यसैले उनी आफूभित्र रहेको पीडा लुकाउँछन्, रसाउन खोज्ने आँखालाई आफ्नै तापले सुकाउन प्रयास गर्छन् ।

गत भदौ १० गतेको त्यो अकल्पनीय घटना रविन्द्र नेपालले बिर्सनै सक्दैनन् । उर्लिएर आएको भोटेकोशी नदीको विनाशकारी बाढीले विदुर–७ मा केवल भूगोलमात्रै बदलेन, वडाध्यक्ष नेपालको जीवनभरको पसिना र सपना पनि क्षणभरमै बगर बनाइदियो ।

लाखौँ रुपैयाँ ऋण र लगानीमा सञ्चालन गरिएको पोल्ट्री व्यवसाय बाढीको भेलसँगै सखाप भयो । जिन्दगीभरको कमाइ, अनगिन्ती रातको अनिँदो र भविष्यको आशा जोडेर बनाएको सानो घर बालुवा र माटोको थुप्रोमुनि पुरियो । अहिले त्यो घर केवल सम्झनामा सीमित छ, जहाँ पाइला टेक्न र बस्नसमेत सकिने अवस्था छैन ।

विडम्बना नै भन्नुपर्छ– जो मानिस सिङ्गो वडावासीको ओत बन्न दिनरात खटिरहेको छ, ऊ आज आफ्नै घर हुँदाहुँदै परिवारसहित दाइको घरमा शरण लिन बाध्य छ । ‘वडाध्यक्ष हुनु मेरो जिम्मेवारी हो, तर रविन्द्र नेपाल हुनु मेरो जीवनको यथार्थ हो,’ सामाजिक सञ्जालमा उनले पोखेका यी शब्दले जनप्रतिनिधिको ‘मानवीय’ पाटोलाई छर्लङ्ग पार्छ ।

हाम्रो समाजमा जनप्रतिनिधिलाई अक्सर ‘सुपरह्युमन’ वा फलामजस्तै ठानिन्छ– जसलाई कहिल्यै दुःख हुनु हुँदैन, जसको आँखामा आँसु आउनु हुँदैन र जसले जस्तोसुकै विपत्तिमा पनि केवल अरूलाई ढाडस मात्र दिइरहनुपर्छ ।

रविन्द्रले पनि लामो समय यही गरे । गाउँलेहरू रुँदै आएर आफ्नो भत्किएको पाली र बगेको खेत देखाउँदा उनले आफ्नै लाखौँको क्षति र पुरिएको घरको कुरा कसैलाई सुनाएनन् । उनलाई डर थियो– यदि अभिभावक नै रोयो भने जनताको भरोसा डगमगाउँछ ।

तर, पदीय जिम्मेवारीमा रहँदैमा छातीभित्रको घाउमा नुनचुक लाग्न कहाँ छोड्छ र ? जनप्रतिनिधि हुनुभन्दा पहिले उनी पनि यही माटोमा पसिना बगाउने एउटा सामान्य नागरिक हुन्, एउटा परिवारको अभिभावक हुन्, जसका आफ्नै सपना थिए ।

बाढी, पहिरो र प्राकृतिक प्रकोपले कुनै दल, पद वा प्रतिष्ठा चिन्दैन । यसले सर्वसाधारण र जनप्रतिनिधि भनेर भेदभाव गर्दैन । रविन्द्रको यो कथा विपद्को त्यही निर्मम प्रहारको यथार्थ ऐना हो ।

उनी प्रस्ट पार्छन्, ‘मैले यो कुरा कसैप्रति गुनासो गर्न वा सस्तो सहानुभूति बटुल्न भनेको होइन । विपद्ले जोकोहीको जीवन एकैछिनमा उथलपुथल पारिदिन सक्छ भन्ने यथार्थ मात्र बाँडेको हुँ ।’

काम गर्ने क्रममा भएका मानवीय कमी–कमजोरीप्रति जनतासँग शिर निहुराएर क्षमा माग्ने उनको सरलताले नेतृत्वको गरिमालाई झन् उच्च बनाएको छ । आफ्नै जीवन लथालिङ्ग हुँदाहुँदै पनि कर्तव्यपथबाट नभाग्ने उनको प्रतिबद्धता साँच्चिकै अनुकरणीय छ ।

विस्थापनको पीडाबिच पुनर्निर्माणको अठोट

आज वडाध्यक्ष नेपाल दोहोरो भूमिकामा छन् । एकातिर आफ्नै भग्नावशेष बनेको घर र उजाडिएको व्यवसाय सम्झेर छटपटाइरहेको बाढीपीडित नागरिक, अर्काेतिर बस्तीलाई फेरि पुरानै लयमा फर्काउन अहोरात्र खट्नुपर्ने वडाध्यक्ष ।

साँझ परेपछि जब उनी दाइको घरको एउटा कोठामा पुग्छन्, त्यहाँ आफ्ना परिवारका आँखामा विस्थापनको पीडा देख्छन् । तर, भोलिपल्ट बिहान उज्यालो हुनासाथ ती सबै व्यक्तिगत दुःखलाई मनभित्रै थुनेर फेरि उनी बस्तीका भत्किएका पर्खालहरू उठाउन निस्कन्छन् । पद अस्थायी हो, तर मानवीय पीडा र जिम्मेवारी स्थायी । आफ्ना सपनाहरू बाढीमा बगे पनि अरुको अनुहारमा आशा जगाउन लागिपरेका नेपालले भने, ‘सबैको साझा प्रयास र सहकार्यबाट हामी फेरि उठ्नेछौँ ।’

ताजा अपडेट

खोजी गर्नुहोस