
काठमाडौ, ०५ भदौ। थोरै रकम लगानी गरेर बाँचुन्जेल चर्को ब्याज असुल्ने ‘ मिटरब्याजीहरू’ विरुद्ध लगातार आन्दोलन भइरहेको छ । हरेक वर्ष आन्दोलन हुने र सरकारसँग सहमति भएर आन्दोलन स्थगित हुने क्रम चलिरहेको छ ।
राज्य मिटरब्याज निर्मुल पार्न लागिपरेको छ । तर, जनताको सेवामा खटिने राष्ट्रसेवक नै मिटरब्याजीमा लगानी गर्ने र रकम असुल गरिरहने धन्दामा संलग्न हुने गरेको भेटिएको छ ।
नेपाल प्रहरीमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) गोविन्द काफ्लेले त्यस्तै ‘मिटरब्याज’ धन्दा सञ्चालन गरेको आरोप छ । उनी अहिले गण्डकी प्रदेशको ट्राफिक व्यवस्थापन गर्ने कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनडौंडा, कास्कीमा कार्यरत छन् ।
ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१० घर भएका निर्माण व्यवसायी हर्क बहादुर श्रेष्ठलाई ४५ लाख लगानी गरेर उनले अहिलेसम्म ७१ लाख ३३ हजार रुपैयाँ असुल गरेको आरोप छ । ओखलढुङ्गामा डीएसपी भएर बस्दा श्रेष्ठसँग चिनजान भएका काफ्लेले पटक पटक गरेर ब्याजबापतको रकम असुल गरेका हुन् ।
२०८१ फागुनमा श्रेष्ठले काफ्लेको राष्ट्रिय वाणिज्य बैंकको खातामा १५ लाख रुपैयाँ डिपोजिट गरेका थिए । आफ्नो र पत्नीको नाममा पटक पटक रकम लिएपनि उनले व्यवसायी श्रेष्ठलाई लगातार रकम मागेर हैरानी गर्ने गरेको आरोप छ ।

सावाँ भन्दा २६ लाख धेरै ब्याज असुल गरेका काफ्लेले आफूलाई नियन्त्रणमा लिएर ४ थान चेक काट्न लगाएको निर्माण व्यवसायी श्रेष्ठले रातोपाटीलाई बताए । ब्याज थप दिनुपर्ने भन्दै काफ्लेले आफ्नो ओहदाको दुरुपयोग गर्दै २०८२ असोज ६ मा काठमाडौँ महानगरपालिका–१४ बल्खु चोकबाट नियन्त्रणमा लिएर उनलाई अपहरणको शैलीमा चन्द्रागिरीमा लगेर जबरजस्ती चेक काट्न लगाएको आरोप छ । त्यसदिन काफ्लेले विभिन्न मिति उल्लेख गर्न लगाएर आफ्नी पत्नी कल्पना काफ्ले सहित ३ जनाको नाममा ४ थान चेक काट्न लगाएका हुन् ।
एसपीले दबाब दिएपछि श्रेष्ठकी पत्नी गितामाया श्रेष्ठले २०८२ वैशाख ४ को मिति राखेर काफ्लेकी पत्नी कल्पनाको नाममा १२ लाखको चेक दिएकी थिइन् । डर, त्रास देखाएर उनले श्रीमतीको बैंक खाताको चेक काट्न आफूलाई बाध्य बनाएको निर्माण व्यवसायी श्रेष्ठले रातोपाटीलाई बताए । उनले भने, ‘नियन्त्रणमा लिएर उहाँले त्रासमा पारेर मेरो पत्नीको नामको चेक काट्न दबाब दिए ।’
त्यसपछि पत्नी, बहिनी र कम्पनीको चेक काट्न आफू बाध्य भएको निर्माण व्यवसायी श्रेष्ठले दाबी गरे । रातोपाटीलाई प्राप्त विवरण अनुसार काफ्लेले आफ्नी पत्नीबाहेक यादव पौडेल र राम प्रसाद मैनालीको नाममा थप ३ थान चेक काट्न लगाएका थिए। यादव पौडेलको नाममा ९ लाख ९९ हजार, रामप्रसाद मैनालीको नाममा २० लाख र ५ लाखको दुई थान चेक जारी गर्न बाध्य बनाएको भेटिएको छ ।
सावाँ भन्दा २६ लाख रकम असुलेर थप ४७ लाख बराबरको चेक काट्न लगाएर ‘ मिटरब्याज’मा आर्थिक कारोबार गरेको आरोपबारे एसपी काफ्लेले अनभिज्ञता जनाए । रातोपाटीले सम्पर्क गर्दा काफ्लेले भने, ‘मेरो लिनुपर्ने पनि छैन, दिनुपर्ने पनि छैन, यसबारे मलाई केही जानकारी नै छैन ।’
एसपी काफ्लेले बल्खुबाट नियन्त्रणमा लिएर थानकोट स्थित दाउरा डिपोमा लगेर जबरजस्ती चेक काट्न लगाएर आफूविरूद्ध ‘आपराधिक बल प्रयोग’ गरेको भन्दै मुद्दा दायर गरेका छन् । काठमाडौँ जिल्ला अदालतमा सो मुद्दा विचाराधीन छ ।
जबरजस्ती लिएको चेक बापतको रकम असुल गर्न निरन्तर दबाब दिएपछि श्रेष्ठले उनीविरूद्ध उच्च अदालतमा निषेधाज्ञाको निवेदन पनि दिएका छन् । सो निवेदन उपर सुनुवाइ गर्दै भदौ ४ मा उच्च अदालत पाटनले श्रेष्ठका परिवारलाई धरपकड नगर्न अन्तरिम आदेश जारी गरेको छ।

