कालोपत्र सडकमा ढुंगामाटो थुप्रिँदा कच्चीझैँ, घरसमेत जोखिममा परेको गुनासो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १७, आईतबार (१ घण्टा अघि)
  • २८ पटक पढिएको
कालोपत्र सडकमा ढुंगामाटो थुप्रिँदा कच्चीझैँ, घरसमेत जोखिममा परेको गुनासो

गुल्मी, १७ जेठ। गुल्मीमा सहायक सडक विस्तार गर्दा निस्किएको ढुंगामाटोको उचित व्यवस्थापन नहुँदा मदन भण्डारी राजमार्ग अन्तर्गतको तम्घास–सिमलटारी सडकखण्डको यात्रा कष्टकर र जोखिमपूर्ण बनेको छ ।

करोडौं रुपैयाँ लागतमा कालोपत्र गरिएको सडकमा हिलोसहित गेग्रान जम्मा हुँदा कच्ची सडक जस्तो देखिएको छ । कतिपय स्थानीयले त आफ्नो घर नै जोखिममा परेको बताएका छन् ।

इस्मा गाउँपालिका–२ को छल्दीटारा क्षेत्रमा सहायक सडक विस्तार गर्दा निस्किएको ढुंगामाटोको उचित व्यवस्थापन नगरिएकाले भेलले बगाएर मुख्य सडकमा थुप्रिने गरेको स्थानीय राजन कुँवरले बताए । ‘पानी परेसँगै सडक हिलाम्मे हुन्छ, गाडी चलाउनै मुस्किल हुन्छ,’ कुँवर भन्छन्, ‘अघिल्लो वर्ष पनि यही समस्या थियो, तर समाधान भएन ।’ यस वर्ष पनि पानी पर्नासाथ उस्तै समस्या देखिन थालेको उनले बताए ।

कुँवरले ढुंगामाटोको थुप्रो घरसम्मै आउने गरेकाले आफ्नो घरसमेत जोखिममा परेको सुनाए ।

अर्का स्थानीय प्रेम मुखियाले पनि सडक निर्माणको क्रममा निस्किएको ढुंगामाटोका कारण आफ्नो घर जोखिममा परेको बताए । ‘यस्तो समस्या भएको तीन वर्ष हुँदा समेत समाधानमा कसैले वास्ता गरेन,’ उनले भने ।

छल्दीटारा क्षेत्रमा मात्रै होइन, छल्दीदेखि सिमलटारीसम्मका विभिन्न स्थानमा साना खहरे खोलामा थुप्रिएको माटो वर्षाको भेलले बगाएर मुख्य सडकमा आपुग्ने गरेको छ । यसले दुर्घटनाको जोखिमसमेत बढाएको स्थानीय बताउँछन् ।

स्थानीय जनप्रतिनिधिहरूले सडकमा थुप्रिएको माटो हटाउन तथा समस्या समाधानका लागि सम्बन्धित कार्यालय र निर्माण व्यवसायीलाई पटक–पटक आग्रह गरे पनि सुनुवाइ नभएको बताएका छन् ।

समयमै मर्मत तथा व्यवस्थापन नहुँदा करोडौं रुपैयाँ खर्चेर निर्माण गरिएको कालोपत्र सडकको अवस्था दिनप्रतिदिन बिग्रँदै गएको देखिन्छ ।

करिब एक अर्ब रुपैयाँको लागतमा निर्माण गरिएको यो सडक गुल्मी क्षेत्र नम्बर–२ का अधिकांश बस्तीका साथै छिमेकी बागलुङ र प्युठान जिल्लासँगको महत्वपूर्ण यातायात सम्पर्क मार्ग हो । तर सडकका विभिन्न खण्डमा देखिएको जोखिमले यात्रु र सवारी चालकहरू चिन्तित देखिन्छन् । उनीहरुले सम्बन्धित निकायलाई तत्काल सडकको मर्मत, सरसफाइ तथा दीर्घकालीन समस्या समाधानका उपाय अपनाउन माग गरेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस