कृषि अनुदानको नाममा ५ करोड ८० लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक १३, बिहिबार (१ दिन अघि)
  • ५२ पटक पढिएको
कृषि अनुदानको नाममा ५ करोड ८० लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं,१२ कात्तिक। सिंहदरबारस्थित विभिन्न मन्त्रालयका कर्मचारीहरूसँग आफ्नो राम्रो चिनजान रहेको भन्दै कृषि फार्मका लागि सहुलियत अनुदान मिलाइदिने प्रलोभन देखाएर ५ करोड ८० लाख रुपैयाँ ठगी गर्ने दुई जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ।

मन्त्रालयको उच्च तहमा पहुँच रहेको विश्वास दिलाएर सर्वसाधारणबाट मोटो रकम असुल्ने कार्यमा संलग्न रहेको आरोपमा सीआईबीले काठमाडौं महानगरपालिका–१३ ताहाचल बस्ने ५२ वर्षीय तिलक बुढाथोकी भन्ने श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका–१४ नखिपोट बस्ने ६० वर्षीय प्रेम नारायण खनाललाई पक्राउ गरेको हो।

जालिम सिंह महतोले दिएको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सीआईबीका अनुसार आरोपीहरूले कृषि अनुदान सहजै मिलाइदिने भन्दै पीडितहरूलाई विभिन्न बहाना बनाएर पटक–पटक गरी कुल ५ करोड ८० लाख रुपैयाँ ठगी गरेका थिए। नेपाल सरकार वादी रहेको यस ठगी सम्बन्धी कसुर मुद्दामा पुजा खड्गीसमेतलाई प्रतिवादी बनाइएको छ।

पक्राउ परेका दुवै जनालाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराई अनुसन्धानका लागि म्याद थप गरिएको छ। सीआईबीका सह–प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) योगेन्द्र कुमार खड्काले अदालतबाट म्याद थप भएसँगै यस प्रकरणमा थप अनुसन्धान कार्य तीव्र रूपमा अघि बढाइएको बिहीबार जानकारी दिए ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस