नक्कली टिकटक खाताबाट अश्लील सामग्री फैलाएको आरोपमा एक युवक प्रहरीको फन्दामा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक १४, शुक्रबार (५३ मिनेट अघि)
  • ३९ पटक पढिएको
नक्कली टिकटक खाताबाट अश्लील सामग्री फैलाएको आरोपमा एक युवक प्रहरीको फन्दामा

सिरहा,१३ कात्तिक।  सामाजिक सञ्जाल टिकटकमा फेक आईडी बनाएर गाउँकै व्यक्तिहरूको फोटो तथा भिडियो अश्लील गीतमा जोडेर प्रसारण गरेको आरोपमा सिरहामा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा औरही गाउँपालिका–३ पिपरा टोलका २३ वर्षीय सञ्जयकुमार यादव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार परिवारका सदस्य तथा अन्य व्यक्तिहरूको फोटो प्रयोग गरी नक्कली टिकटक आईडी बनाइएको थियो ।

उक्त आईडीबाट अश्लील गीतमा फोटो तथा भिडियो जोडेर सामाजिक सञ्जालमा प्रसारण गरी चरित्रहत्या गर्नुका साथै व्यक्तिगत गोपनीयतामा आघात पुर्‍याइएको भन्दै पीडितले प्रहरीमा जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो ।

जाहेरीका आधारमा अनुसन्धान अघि बढाउने क्रममा कात्तिक ११ गते बिहान यादवलाई पक्राउ गरेको प्रहरीको भनाई छ ।

प्रहरी प्रवक्ता एवं डिएसपी रमेश बहादुर पालका अनुसार प्रारम्भिक सोधपुछका क्रममा यादवले आफ्नै मोबाइलबाट उक्त फेक टिकटक आईडी बनाई फोटो तथा भिडियोहरू अश्लील गीतमा जोडेर प्रसारण गरेको स्वीकार गरेका छन् । उनलाई साइबर अपराधसम्बन्धी कसुरमा नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस