
काठमाडौं ,१३ कात्तिक। नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न सेवा, समूह र तहका रिक्त पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।
कम्पनीको पदपूर्ति समितिले सूचना नं. ०६/२०८३/८४ जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्न आवेदन माग गरेको हो।
प्रकाशित विज्ञापनअनुसार उपप्रबन्धक, वरिष्ठ इन्जिनियर, वरिष्ठ व्यापार अधिकृत, वरिष्ठ लेखा अधिकृत, टेलिकम इन्जिनियर, सहायक प्रशासकीय अधिकृत, सहायक व्यापार अधिकृत, सहायक लेखा अधिकृत, ओभरसियर, टेलिकम टेक्निसियन, सहायक र जुनियर टेक्निसियनलगायत पदमा आवेदन खुलाइएको छ।
उक्त विज्ञापनमा विभिन्न पदका लागि कुल ७० वटा रिक्त पद उल्लेख गरिएको छ। पदपूर्ति खुला तथा आदिवासी–जनजाति, महिला, मधेशी, दलित, अपांगता भएका व्यक्ति र पिछडिएको क्षेत्रका लागि समावेशी समूहअन्तर्गत गरिनेछ।
इच्छुक नेपाली नागरिकले नेपाल टेलिकमको आधिकारिक वेबसाइट www.ntc.net.np वा recruit.ntc.net.np मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।
आवेदनका क्रममा नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताका प्रमाणपत्र, फोटो, दस्तखत तथा आवश्यक समावेशी प्रमाणपत्रलगायत कागजात अपलोड गर्नुपर्नेछ। लिखित परीक्षा लोकसेवा आयोगले सञ्चालन गर्ने सूचनामा उल्लेख छ।
