घुस लिँदै गर्दा डिभिजन कार्यालयका प्रमुख र अधिकृत रंगेहात पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १०, आईतबार (१ घण्टा अघि)
  • ३९ पटक पढिएको
घुस लिँदै गर्दा डिभिजन कार्यालयका प्रमुख र अधिकृत रंगेहात पक्राउ

सर्लाही, १० साउन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसंग घुस लिएको आरोपमा सर्लाहीस्थित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरीलाई पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले सर्लाहीको बागमती नगरपालिका–१२ स्थित रामकाजी थापाको घरको भुइँतलामा रहेको डिभिजन प्रमुख ढकालको सरकारी निवासमा छापा मारेर दुवै जनालाई नियन्त्रणमा लिएको छ । आयोगले जनाए अनुसार बोरिङ तथा मोटर जडानको काम सम्पन्न गरिसकेपछि विभिन्न जल उपभोक्ता समितिहरूले भुक्तानी माग्दा कार्यालय प्रमुख ढकाल र मेकानिकल अधिकृत चौधरीले मिलेमतोमा सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीका आधारमा विशेष निगरानी गरिएको थियो ।

छापामार कारबाहीका क्रममा ढकाल बसेको सोफाबाट सेवाग्राहीबाट घुसस्वरूप लिइएको ७ लाख ५० हजार रुपैयाँ नगद बरामद भएको आयोगले जनाएको छ । त्यसैगरी खानतलासीका क्रममा स्रोत खुल्न नसकेको थप रु ७१ हजार ११५ नगद र तीन थान मोबाइल फोन समेत बरामद गरिएको छ । बरामद भएको नगदसहित कुल ८ लाख २१ हजार ११५ रकम नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

आयोगका सूचना अधिकारी प्रकाश पोखरेलका अनुसार डिभिजन प्रमुख ढकालले मेकानिकल अधिकृत चौधरीमार्फत सेवाग्राहीसँग घुस रकम मागेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले योजनाबद्ध रूपमा कारबाही अघि बढाएको थियो । प्रारम्भिक अनुसन्धानअनुसार सर्लाहीका विभिन्न स्थानमा बोरिङ निर्माण तथा मोटर जडानको काम सम्पन्न गरेका उपभोक्ता समिति तथा ठेकेदारहरूले भुक्तानी माग्दा कार्यालयले विभिन्न बहाना बनाएर भुक्तानी रोकेको र अन्ततः रकमको बार्गेनिङ गर्न थालेपछि पीडित पक्षले अख्तियारमा उजुरी दिएका थिए ।

उजुरीपछि अख्तियारले प्रमाण संकलन गर्दै निगरानी बढाएको थियो । सोही क्रममा घुसको रकम लेनदेन भइरहेको अवस्थामा छापा मारेर दुवै कर्मचारीलाई नियन्त्रणमा लिइएको आयोगको भनाइ छ । पक्राउ परेका डिभिजन प्रमुख ढकाल र मेकानिकल अधिकृत चौधरीलाई थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयमा राखिएको छ ।

उनीहरूमाथि भ्रष्टाचार निवारण ऐनअन्तर्गत आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस