
रमेश कुमार यादब
कार्तिक ०८, रौतहट
लोकआस्था, श्रद्धा र पवित्रताको प्रतीकका रूपमा मनाइने छठ पर्व नजिकिँदै जाँदा रौतहट जिल्लाका विभिन्न बजारमा चहलपहल बढ्न थालेको छ। छठ पूजाका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारण बजार पुग्न थालेपछि जिल्लाका बजारमा पर्वको रौनक देखिन थालेको हो। छठ पर्वमा सूर्यदेव र छठी माताको पूजा आराधना गरी अस्ताउँदो तथा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्ने धार्मिक परम्परा रहेको छ। यस पर्वमा पूजाका सामग्री राख्न प्रयोग गरिने बाँसबाट निर्मित ढाकी, सुप, नाङ्लो, कोनिया लगायतका सामग्रीको विशेष महत्त्व हुने भएकाले पर्व नजिकिएसँगै यस्ता सामग्रीको किनमेल बढ्न थालेको छ ।
छठ पूजाको तयारीमा जुटेका व्रतालु तथा उनीहरूका परिवारका सदस्यहरू आवश्यक सामग्री जुटाउन बजार जान थालेका छन्। विशेषगरी बाँसबाट बनेका सामग्री छठ पूजामा फलफूल, नरिवल, उखु, ठेकुवा लगायतका प्रसाद राख्न प्रयोगगरिने भएकाले यस्ता सामग्रीको माग बढ्दै गएको व्यापारीहरूको अपेक्षा छ। छठ पर्वमा बाँसबाट निर्मित सामग्रीको प्रयोगलाई धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ। परम्परादेखि नै छठ पूजामा बाँसका सामग्री प्रयोग हुँदै आएकाले आधुनिक सामग्रीको प्रयोग बढ्दै गए पनि ग्रामीण क्षेत्रका अधिकांश परिवारले परम्परागत सामग्रीलाई नै प्राथमिकता दिने गरेका छन्। यसले स्थानीय हस्तकला, मौलिक संस्कृति र
परम्परागत सीपको संरक्षणमा समेत योगदान पु¥याउँदै आएको छ।
पर्व नजिकिएसँगै बाँसका सामग्री बिक्री गर्ने व्यापारीहरू पनि व्यापार बढ्ने आशामा रहेका छन्। छठका लागि आवश्यक सामग्री खरिद गर्न ग्राहकहरू बजार आउन थालेपछि व्यापार व्यवसायमा समेत क्रमशः चहलपहल बढ्ने अपेक्षा गरिएको छ। पर्वको मुख्य दिन नजिकिँदै जाँदा बजारमा ग्राहकको संख्या अझै बढ्ने अनुमान गरिएको छ। यसैबीच, रौतहटका विभिन्न गाउँबस्तीमा छठ पर्वको सामाजिक तथा धार्मिक महत्त्व झल्किने गतिविधि पनि सुरु भएका छन्। कतिपय व्यक्ति तथा स्थानीय समाजसेवीहरूले छठ पूजा गर्ने श्रद्धालु भक्तजनलाई सुप, नाङ्लो र दाउरा वितरण गर्न थालेका छन्।
आर्थिक अवस्था कमजोर भएका तथा छठ पूजाको तयारीमा रहेका परिवारलाई लक्षित गरी गरिने यस्ता सहयोगले पर्वको खुसी र उत्साह थप बढाएको छ। छठ पर्वमा व्रतालुहरूले कठिन नियम पालना गर्दै श्रद्धापूर्वक पूजा गर्ने परम्परा छ। यस पर्वले परिवारको सुख, शान्ति, समृद्धि र आरोग्यको कामनासँगै सामाजिक सद्भाव, आपसी सहयोग तथा एकताको सन्देश पनि दिने गर्दछ। जातजाति, समुदाय र आर्थिक अवस्थाभन्दा माथि उठेर एकअर्कालाई सहयोग गर्ने परम्पराले छठलाई अझ विशेष बनाएको छ।
रौतहटसहित मधेशका जिल्लामा छठ पर्वलाई विशेष उत्साहका साथ मनाउने गरिन्छ। घरआँगनको सरसफाइदेखि पोखरी, नदी, तलाउ तथा जलाशयका घाटहरूको व्यवस्थापनसम्मका तयारी पर्व नजिकिँदै जाँदा तीव्र हुने गरेका छन्। छठ पूजाका लागि घाट सजाउने, सरसफाइ गर्ने र आवश्यक व्यवस्थापन मिलाउने कामले पनि आगामी दिनमा गति लिने अपेक्षा गरिएको छ।
बजारमा देखिन थालेको चहलपहल, बाँसका सामग्रीको बढ्दो माग र गाउँबस्तीमा सुरु भएको सहयोग वितरणले रौतहटमा छठ पर्वको उत्साह क्रमशः बढ्दै गएको संकेत गरेको छ। आस्था, परम्परा र सामाजिक सद्भावसँग जोडिएको छठ पर्वले जिल्लामा धार्मिक रौनकसँगै आर्थिक गतिविधिलाई समेत चलायमान बनाउने अपेक्षा गरिएको छ ।

