प्रधानमन्त्री बालेन शाहबाट एनपीएलको तेस्रो संस्करण उद्घाटन हुने

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक १०, सोमबार (४८ मिनेट अघि)
  • ४१ पटक पढिएको
प्रधानमन्त्री बालेन शाहबाट एनपीएलको तेस्रो संस्करण उद्घाटन हुने

काठमाडौं,०९ कात्तिक।  नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको औपचारिक उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजना हुने उद्घाटन समारोहसँगै प्रतियोगिताको सुरुआत हुनेछ । आजको उद्घाटन खेलमा साबिक विजेता लुम्बिनी लायन्स र गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदै छन्। खेल दिउँसो साढे ४ बजे सुरु हुने तालिका छ ।

प्रधानमन्त्री शाहले प्रतियोगिता सुरु हुनुअघि नै नेपाली क्रिकेटलाई सफलताको शुभकामना दिएका छन् । उनले एनपीएल छोटो समयमै नेपालको ठुलो खेलकुद उत्सवका रूपमा स्थापित हुन सफल भएको उल्लेख गर्दै प्रतियोगितामा सहभागी खेलाडी, प्रशिक्षक तथा आयोजकलाई शुभकामना व्यक्त गरेका छन् ।

करिब एक महिनासम्म सञ्चालन हुने प्रतियोगितालाई थप व्यवस्थित, प्रतिस्पर्धात्मक र स्तरीय बनाउन नेपाल क्रिकेट सङ्घ (क्यान) ले यस संस्करणमा नयाँ व्यवस्था लागू गरेको छ । पहिलो पटक एनपीएलमा डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रयोग गरिँदैछ। यस प्रणालीले अम्पायरका निर्णय पुनरावलोकन गर्न सहयोग पुर्‍याउनेछ ।

त्यस्तै, विदेशी स्टार खेलाडीहरूको सहभागिताले प्रतियोगिताको आकर्षण थप बढाएको छ । यस संस्करणमा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, चितवन राइनोज, कर्णाली याक्स, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज गरी आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

एनपीएलले नेपाली क्रिकेटको विकास, घरेलु खेलाडीको क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको क्रिकेट पहिचान विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस