
काठमाडौँ , ०५ साउन। काठमाडौंको कीर्तिपुर नगरपालिका–स्थित ट्याङ्लाफाँट क्षेत्रमा मंगलबार दिउँसो गुडिरहेको एउटा कारमा अचानक आगलागी हुँदा चालकको घटनास्थलमै जलेर मृत्यु भएको छ।
चाँदनी चोक नजिकै गुडिरहेको बा ५ च ३०३८ नम्बरको किया कारमा एक्कासि आगो सल्किएपछि चालक बाहिर निस्कन नपाएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। आगो तीव्र रूपमा फैलिँदा चालक गाडीभित्रै फसेका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार आगो पूर्ण रूपमा नियन्त्रणमा लिएपछि गरिएको निरीक्षणमा चालक सिट बेल्ट बाँधेकै अवस्थामा मृत फेला परेका थिए। मृतकको परिचय भने समाचार तयार पार्दासम्म खुल्न नसकेको प्रहरीले जनाएको छ।
घटनालगत्तै स्थानीयवासी र प्रहरी टोलीले फायर एक्स्टिङ्गुइसरको प्रयोग गरी आगो निभाउने प्रयास गरेका थिए। त्यसपछि दमकल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो।
हालसम्म कारमा आगलागी हुनुको कारण खुलेको छैन। प्राविधिक खराबी, विद्युतीय समस्या वा अन्य कुनै कारणले आगलागी भएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।
अचानक भएको यस घटनाले स्थानीय क्षेत्रमा त्रास फैलाएको छ भने प्रहरीले घटनासम्बन्धी सबै पक्षको सूक्ष्म अनुसन्धान जारी रहेको जनाएको छ।
