
काठमाडौं, २२ भदौ। स्याङ्जाको भीरकोट नगरपालिका–४ स्थित छाङछाङदी मन्दिरमा करिब २५ वर्षदेखि साधुको रूपमा बस्दै आएका एक व्यक्ति वालिङमा मृत फेला परेका छन् ।
भारतको तमिलनाडु प्रदेश, कोयम्बटुर जिल्ला, गुलुमलाइ घर भएका करिब ५५ वर्षीय कुमार स्वामी (पातली) सोमबार बिहान वालिङ नगरपालिका–१ खत्रीखोलास्थित कृष्णप्रसाद ढकालको घरमा सुतिरहेको अवस्थामा मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार बिहान करिब साढे ७ बजे उनी मृत अवस्थामा फेला परेका थिए ।
घटनाको जानकारी पाएपछि वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थल मुचुल्कालगायत प्रारम्भिक प्रक्रिया पूरा गरी शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाएको छ ।
प्रहरीका अनुसार कुमार स्वामीले अत्यधिक मादक पदार्थ (रक्सी) सेवन गर्ने गरेको बुझिएको छ । उनका आफन्तलाई घटनाबारे जानकारी गराउने प्रक्रिया अघि बढाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अवस्थीले जानकारी दिए ।
