काठमान्डुलाई सस्तोमै समेट्न बलिङमा जनकपुरका आइकोनिक प्लेयर राहुल यादवले उत्कृष्ट प्रदर्शन गरे । राहुलले ४ ओभरमा ३१ रन खर्चिएर महत्वपूर्ण ४ विकेट लिए । उनले दुवै ओपनर साम र पटेलसहित कप्तान करण र आदिल आलमको विकेट लिए । सैफ हसनले २, मोइन अली, कप्तान हर्मीत सिंह र ललित राजवंशीले एकएक विकेट लिए ।
ब्याटिङमा काठमान्डुका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । उनले २९ बलमा चार चौका प्रहार गरे । काठमान्डुले खेल भर नै ठूलो साझेदारी बनाउन सकेन । ६ रन जोड्दा ओपनर साम हिजलेटलाई गुमाएको काठमान्डुले १९ रन जोड्दा हरिशंकर शाहलाई गुमाउन पुग्यो । साम एक र हरिशंकर ९ रनमा पभेलियन फर्किए ।
त्यसपछि पनि काठमान्डुले लगातार विकेट गुमाउँदै गयो । रसिद खान १७, स्मित पटेल १३ सुमित महर्जन १०, कप्तान करण केसी ८, जहानदाद खान ५ रनमा आउट हुँदा मोहम्मद आदिल आलम पहिलो बलमै एनबीडब्लुको शिकार बने । रिपोन मोन्डल ९ रनमा आउट हुँदा शाहव आलम ४ रनमा अविजित रहे ।
काठमान्डुले टोलीमा अनुबन्ध गरेको डेविड वार्नर पहिलो खेलमा अनुपस्थित छन् । उनी आइतबार मात्रै नेपाल आउनेछन् । यो खेलमा काठमान्डुले अनुबन्धको अनाउन्स नगरेको रिपोन र जहानदादलाई मैदान उतारेको छ । जनकपुरमा पनि यसअघि पहिलो खेल खेलेका जिम्मी निशम बेन्चमा छन् ।