नारायणी अस्पतालमा बिरामीको मृत्युपछि छानबिन समिति गठन, पाँच स्वास्थ्यकर्मी हटाइए

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १०, आईतबार (१ घण्टा अघि)
  • ३५ पटक पढिएको
नारायणी अस्पतालमा बिरामीको मृत्युपछि छानबिन समिति गठन, पाँच स्वास्थ्यकर्मी हटाइए

वीरगञ्ज, १० साउन। पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवाद समाधानका लागि पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। साथै, घटना हुँदा उपचारमा संलग्न रहेका पाँच जना स्वास्थ्यकर्मीलाई छानबिन प्रतिवेदन नआउञ्जेलसम्मका लागि जिम्मेवारीबाट हटाइएको छ।

वीरगञ्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको शनिबार उपचारका क्रममा मृत्यु भएपछि चिकित्सक तथा अस्पताल प्रशासनको लापरबाहीका कारण बिरामीको ज्यान गएको आरोप लगाउँदै आफन्त र स्थानीयवासीले अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका थिए। प्रदर्शन उग्र बन्दै गएपछि केही समय अस्पतालको अवस्था तनावग्रस्त बनेको थियो।

स्थिति नियन्त्रणमा ल्याउन स्थानीय प्रशासन, नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साह, पीडित परिवार तथा स्थानीय जनप्रतिनिधिबीच भएको छलफलपछि घटनाको निष्पक्ष छानबिन गर्ने सहमतिसहित समिति गठन गरिएको हो।

गठित समितिमा नारायणी अस्पतालका डा. निरज कुमार सिंह, जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय कुमार राम, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक, वीरगञ्ज महानगरपालिका–२५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदी, मृतक पक्षका प्रतिनिधि विकास पटेल तथा अस्पताल प्रशासनका प्रतिनिधि सुनिल कुमार रोनियार सदस्य रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी डीएसपी चक्रबहादुर मल्लका अनुसार समितिलाई साउन ९ गते भएको घटनाको सत्यतथ्य अध्ययन तथा विश्लेषण गरी सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। समितिको प्रतिवेदनका आधारमा दोषी देखिने व्यक्तिमाथि आवश्यक कानुनी तथा प्रशासनिक कारबाही अघि बढाइने उनले बताए।

घटना हुँदा आकस्मिक कक्षमा कार्यरत डा. प्रमोद राम, डा. राम किशोर सिंह, प्रहलाद प्रसाद, नरेश कुमार चौधरी र आस्था यादवलाई छानबिन सम्पन्न नहुँदासम्मका लागि नियमित जिम्मेवारीबाट हटाइएको अस्पताल प्रशासनले जनाएको छ।

मृतकका आफन्तले अक्सिजनमा रहेका बिरामीलाई स्थानान्तरण गर्ने क्रममा अक्सिजन हटाइएकाले गम्भीर लापरबाहीका कारण राजकुमार पटेलको मृत्यु भएको आरोप लगाएका छन्। यद्यपि, उक्त आरोपबारे छानबिन समितिले तथ्यगत अध्ययन गर्ने जनाएको छ।

उपचारमा लापरबाही भएको भन्दै आक्रोशित प्रदर्शनकारी आकस्मिक कक्षमा प्रवेश गरी होहल्ला तथा तोडफोडमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जसमेत गरेको थियो।

प्रशासनसँग भएको सहमतिपछि मृतक पक्षले शव बुझेर पोस्टमार्टम गराई धार्मिक परम्पराअनुसार अन्त्येष्टि गर्न सहमति जनाएको छ। अस्पताल प्रशासनले घटनाको निष्पक्ष छानबिन हुने विश्वास दिलाउँदै नारायणी अस्पतालबाट प्रवाह हुने नियमित स्वास्थ्य सेवालाई थप प्रभावकारी र अवरोधरहित रूपमा सञ्चालन गरिने जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस